३० जेष्ठ, काठमाडौँ । कुवेतबाट ७ जना बालबालिकासहित १ सय ४९ जना नेपाली महिला कामदार शुक्रबार नेपाल आइपुगेका छन् ।
कुवेत सरकारले जजिरा एयरलाइन्सको जहाजमार्फत उनीहरुलाई नेपाल पठाएको हो ।
उक्त जहाज शुक्रबार बिहान करिव साढे ११ बजे त्रिभुवन विमानस्थलमा अवतरण भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । कुवेतले नेपालीलाई स्वदेश पठाएको यो तेश्रो उडान हो ।
जजिरा एयरलाइन्स कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ४ बजे उडेको थियो । गैरकानुनी रुपमा कुवेत बसेर आममाफी पाएका नेपाली महिला कामदारलाई कुवेत सरकारले पठाएको हो । उनीहरुलाई गत अप्रिल २६ तारिखदेखि कुवेतले अस्थायी क्याम्प र डिपोर्टेसन सेन्टरमा राखेको हो । यसको सबै खर्च कुवेतले नै बेहोरेको हो ।
कुवेतले शनिबारका लागि पनि थप दुई उडानका लागि अनुमति मागेको छ । यसअघि बिहीबार बिहान मात्र कुवेतबाट दुई वटा विमानमार्फत ३ सय ६ जना नेपाली महिला कामदार नेपाल फर्किएका थिए ।