३ आश्विन, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीसँग जुध्नु बाहेक अर्को विकल्प नभएको बताएका छन् ।
संविधान दिवस २०७७ का अवसरमा सैनिक मञ्च टुँडिखेलबाट देशवासीका नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । सुरुका दिनमा कोरोना के हो ? भन्ने विषयमा अन्योलता हुँदा कोरोना महामारीसँग जुध्न समय लागेको प्रधानमन्त्रीले बताए । सरकारले समयमै लकडाउन गरेकाले कोराना भाइरस भयावह अवस्थामा पुग्न नसकेको उनको भनाइ छ ।
सुरुका दिनमा काम गर्न अन्योलता भए पनि अहिले अस्पताल, आइसोलेसन बेड र परीक्षणको दायरा बढाइएकाले हामी कोरोना जित्न सक्नेमा ढुक्क छौं ’ प्रधानमन्त्रीले भने ।
त्यस्तै उनले कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले चालेको कदम उराठलाग्दो नभएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले कोरोना संक्रमण हुनुपूर्व नेपालमा स्वास्थ्य क्षेत्रको पूर्वाधार कमजोर रहेको उल्लेख गर्दै अहिले त्यसमा उल्लेख्य वृद्धि र सुधार गरिएको बताए । पहिलो संक्रमितको पहिचान गर्न स्वाबको नमुना विदेश पठाउनु परे पनि अहिले सरकारी र निजी गरी ४७ वटा प्रयोगशालामा कोरोना परीक्षण हुने प्रधानमन्त्री ओलीले बताए ।
पछिल्लो समय दैनिक करिब २३ हजार नमुना परीक्षण गर्न सकिने गरी प्रयोगशाला स्थापना गरिएको उनले बताए । सुरुमा एउटा नमुना परीक्षण गर्न ८ हजार ५ सय रुपैयाँसम्म लाग्ने गरे पनि अहिले २ हजार रुपैयाँमा कोरोना परीक्षण हुने उनले बताए ।
त्यसैगरी कोरोना महामारीका कारण सरकारले गौरवका आयोजनाहरु पूरा गर्न नसकेको उनले बताए । कोरोना महामारी भए पनि विश्वका अधिकांश देशमा जस्तो नेपालमा आर्थिक असर नपरेको पनि प्रधानमन्त्री ओलीले बताए । अघिल्ला वर्षहरुमा भन्दा यस वर्ष रेमिट्यान्स भित्रिएको पनि उनले उल्लेख गरे ।