१७ धनगढी, साउन ।
बझाङको केदारस्यूँ गाउँपालिकामा क्वारेन्टिनमा बसेर घर पुगेका ६६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । एकै ठाउँबाट एकैसाथ आएका ६६ जनासहित १२५ जनाको साउन ७ गते स्वाब संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख कैलाश बलायरले जानकारी दिए ।
उनीहरु असार अन्तिम साता भारतको बेंलोरबाट आएर क्वारेन्टिनमा बसेका थिए । भारतबाट आएको १४ दिन पुगेपछि ९ गते उनीहरु घर गए । घर गएको एक सातापछि ६६ जनामा संक्रमण पुष्टि भयो । घर गएकामध्ये शुक्रबार २५ जना र शनिबार ४१ जना गरी ६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख बलायरले बताए ।
क्वारेन्टिनबाट घर गएका संक्रमितहरू केदारस्यूँ गाउँपालिकाको ६ र ७ का बासिन्दा भएको उनले बताए । क्वारेन्टाईनबाट घर फर्केकामा संक्रमण पुष्टि भएपछि दुबै वडालाई सिल गर्ने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष निशा धामीले बताइन् ।
उनका अनुसार क्वारेन्टिनबाट घर पुगेका संक्रमितहरुको खोजी पनि सुरु भएको छ । उनीहरूलाई चन्द्रोदय माध्यमिक विद्यालय र कैलाश भवानी माध्यमिक विद्यालयको आइसोलेसनमा राख्ने तयारी भइरहेको छ । साथै उनीहरुको सम्पर्कमा आएका व्यक्ति र आफन्त सबैको पीसीआर परीक्षण गर्ने तयारी छ ।
प्रमुख जिल्ला अधिकारी कमल राज भण्डारीले भने जिल्लामा संक्रमितहरुको संख्या बढ्न थालेकाले लकडाउन कडा गर्ने बिषयमा छलफल भइरहेको बताए ।