२७ बैशाख, काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको अन्तिम समय सकिएको छ ।
२०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउनुपर्ने भन्दै खनाल समूहले अहिले ९ बजेसम्मको समय दिएको थियो ।
अहिलेसम्म अध्यक्ष ओली र ओली समूहबाट कुनै प्रतिक्रिया नआएकोले आफूहरुले राजीनामा दिने तयारी गरेको खनाल–नेपाल समूहका नेता जीवनराम श्रेष्ठले जानकारी दिए । केहीबेरमा आफूहरु राजीनामा दिनका लागि जाने तयारी भइरहेको श्रेष्ठले बताए ।
बसेर थप छलफल गर्नका लागि आफूहरु तयार भएको भए पनि पार्टी निकै अघि बढिसकेकोले २०७५ जेठ २ गतेको अवस्थामा फर्किने सम्भावना नरहेको एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको भनाइ छ ।
उनले आफ्नै पार्टी नेतृत्वविरुद्ध गठबन्धन गर्ने अनि फेरि २०७५ को जेठ २ मा फर्केर सबै निर्णय बदर गर्नुपर्छ भन्ने माग जायज नभएको बताए ।
एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदको विशेष अधिवेशनमार्फत विश्वासको मत लिँदै छन् । खनाल–नेपाल समूहले राजीनामा दिने भएसँगै प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन थप सकस हुने भएको छ ।
सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेभित्रको आन्तरिक मतान्तर तथा अरु दलभित्र पनि विवाद भएका बेला संसद बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।