८ जेठ, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खनाल–नेपाल समूह प्रतिक्रियावादी शक्तिको मतियार भएको आरोप लगाएका छन् ।
खनाल–नेपाल समूहका नेताहरुले निर्लज्जतापूर्वक कम्युनिष्ट आन्दोलनको विरुद्धमा लागेको भन्दै उहाँले कम्युनिष्ट आन्दोलनकाविरुद्ध इतिहासमा कहीँ नदेखिएको अनुशासनहीनता र अराजकता देखिएको बताए ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिकूल अन्तर्राष्ट्रिय परिस्थितिका बीच उचाइमा पु¥याइएको कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्ने प्रयासस्वरुप पार्टी फुटाइएको आरोप लगाए ।
यस्तै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले निकालेको प्रेस विज्ञप्तिमा राष्ट्रपतिलाई ’तिमी’ भन्ने शब्द प्रयोग गरेको भन्दै असन्तुष्टि पनि जनाएका छन् । नेपाली कांग्रेसको सभापतिको स्तरबाट त्यस्तो भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियानको गहिराइ कति छ भन्ने स्पष्ट भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले नेकपा–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १५ वर्षदेखि मानिसलाई गम्भीर प्रकारका आरोपहरु लगाइरहेको पनि बताए । प्रचण्डले असभ्यताको र संस्कारहीनताको पराकाष्ठा देखाएको उनको आरोप छ ।