२८ जेठ, पोखरा ।
गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाभित्र सरकार गठनको लागि आह्वान गरेकी छन् । प्रदेश प्रमुख पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान गरेकी हुन् ।
संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि १६८(५) अनुसार सरकार गठनको प्रक्रिया सुरु भएको हो ।
प्रदेश प्रमुख पौडेलले भोलि २९ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेकी छन् ।
६० सदस्यिय गण्डकी प्रदेशसभामा सरकार बनाउनको लागि ३१ सासद चाहिन्छ ।
विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् ।
विपक्षी कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी तर्फबाट मुख्यमन्त्रीका उम्मेदवार रहेका कृष्णचन्द्र नेपालीले बहुमतसहित आफूहरुको सरकार बन्ने दाबी गर्नेछन् ।