गृहमन्त्रीद्वारा छाङरुमा सशस्त्र प्रहरी बलको गुल्म उद्घाटन

९ असाेज, दार्चुला ।

दार्चुलाको व्यास गाउँपालिका १ छाङरुकाे गागामा सशस्त्र प्रहरी बलकाे गुल्म स्थापना भएकाे छ । गृहमन्त्री रामबहादुर थापाले नेपाल नम्बर ५० गुल्मको उद्घाटन गरेका छन् । भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र नजिकै स्थापित सशस्त्र प्रहरीको गुल्मको हेलिकप्टरमार्फत व्यास पुगेर उनले उद्घाटन गरेका हुन्।

एकतर्फी रुपमा नेपाली भूमि भएर चीन जोड्ने गरी सडकको भारतले उद्घाटन गरेपछि नेपाल सरकारले व्यासमा सशस्त्र प्रहरी बल राखेको हो । आफ्नो भूमिको रक्षाका लागि गएकाे वैशाख ३१ गते सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट राखिएकाेमा अहिले स्तरोन्नति गर्दै गुल्म राखिएको हो ।

Advertisement

गएकाे असार २८ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार छाङरुमा सशस्त्र प्रहरी बलको गुल्म स्थापना गरिएको हो । अहिले व्यासको गुल्ममा प्रहरी नायब उपरीक्षक (डीएसपी) धीरेन्द्र शाहले नेतृत्व गरेका छन्

सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटर नयाँ नक्सा जारी गरिसकेको तथा व्यास क्षेत्रमा सुरक्षा उपस्थिति बढाउँदै लगेको छ ।

Advertisement

सरकारले व्यासकै तिङ्कर र कौवामा पनि बीओपी राख्ने तयारी छ । गृहमन्त्री थापासँगै छाङरुमा सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल, गृह सचिव महेश्वर न्यौपाने, दार्चुलाका सांसद गणेशसिंह ठगुन्ना, गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदी, सुरक्षा सल्लाहकार इन्द्रजीत राई, नेपाली सेनाका सहायकरथी पवनराज घिमिरे, सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रामशरण पौडेललगायत सहभागी छन् ।

गृहमन्त्री थापा नेतृत्वको टोली शुक्रबार व्यासमै बस्ने कार्यक्रम रहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए । टोली शनिबार मात्रै काठमाण्डाै फर्कने छ । व्यासमा बस्दा कौवा, तिङ्करलगायत क्षेत्रमा निरीक्षण गर्ने योजना रहेको छ । गृहमन्त्रीले सशस्त्र प्रहरीको गागामा निर्माण हुने भवनको शिलान्याससमेत गर्नेछन्। सशस्त्र प्रहरीको भवन निर्माणका लागि १० करोड रुपैयाँमा ठेक्का सम्झौता भइसकेको छ ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top