२२ जेठ, काठमााडौँ ।
जनता समाजवादी पार्टी (जसपा)नेपालभित्रको केन्द्रस्तरको विवादको असर प्रदेश नं. २ को सरकारमा पनि पर्ने देखिएको छ ।
जसपाका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश सरकार ढाल्न सो पार्टीबाटै प्रयास शुरु भएको छ ।
जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष संघीय सरकारमा सहभागी भएपछि अर्का अध्यक्ष उपेन्द्र यादव प्रदेश सरकारको जिम्मेवारी परिवर्तनको रणनीति बनाउन शुक्रबार नै जनकपुर पुगिसकेका छन् ।
उनले ठाकुर–महतो पक्षका मन्त्रीलाई हटाएर माओवादी केन्द्र र नेपाली कांग्रेसलाई ल्याउन छलफल सुरु गरेको बुझिएको छ । यादव २÷३ दिन जनकपुर रहने पार्टी स्रोतले जनाएको छ ।
प्रदेश सरकारमा कांग्रेससँग सहकार्यका लागि शुक्रबार जसपा अध्यक्ष उपेन्द्र यादवले कांग्रेस उपसभापति विमलेन्द्र निधिसँग समेत छलफल गरेका छन् । जसपामा विवाद चुलिएपछि अध्यक्ष यादव प्रदेश सरकार बचाउन कांग्रेस उपसभापति निधिलाई भेटेका हुन् ।
ठाकुर पक्षले पनि कांग्रेसलाई सरकार बनाउन सहयोग मागेको छ । अध्यक्ष ठाकुरले यसअघि नै राउतलाई मुख्यमन्त्री र संसदीय दलको नेताबाट हटाएर मनिष सुमनलाई बनाउन निर्देशन दिइसकेको जनाइएको छ ।
सुमनलाई नेकपा (एमाले) ओली पक्षको समर्थन रहने स्थिति छ । प्रदेशका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनाल पनि काँग्रेस र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बन्ने कोशिशमा भिडेका छन् ।
जसपाको दुवै पक्षले सरकार बनाउन सहयोग मागेपछि कांग्रेस प्रदेश २ का प्रदेश सांसद छलफलमा समेत जुटेका छन् ।
प्रदेश २ मा तत्कालीन समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको गठबन्धनको सरकार बनेकामा एक वर्ष अघि पार्टी एकीकरणपछि जसपा बनेको थियो ।
जसपाका अध्यक्षद्वय ठाकुर र यादवले एकार्कालाई कारबाही गरेपछि निर्वाचन आयोगमा पुगेको विवादको टुङ्गो नलाग्दासम्म कानूनी रुपमा पार्टी एक भएपनि व्यवहारिक रुपमा विभाजित भइसकेको छ ।