विराटनगर, माघ १४
‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो मुल अभियान’ भन्ने मुल नाराका साथ विराटनगरमा गत बुधबारदेखि सुरु भएको विराट जुत्ता चप्पल मेला–२०७५ मा ग्राहकको उल्लेख्य भिड लागेको छ । विराटनगर–७ मेनरोडस्थित बैंक अफ काठमाडौंको अगाडिको खाली स्थानमा जारी १ महिने मेलामा जुत्ता चप्पल किन्ने ग्राहकको ओइरो लागेको हो ।
मेलामा आउने ग्राहकहरु दिन प्रतिदिन बढ्दै गएको विराट जुत्ता चप्पल मेलाका सुपरभाईजर गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । बजारका तुलनामा मेलाका अबसरमा तुलनात्मकरुपमा जुत्ता चप्पल सस्तो पाएपछि ग्राहकको संख्या बढ्दै गएको उनको भनाई छ ।
उनले यकिन तथ्यांक नभएपनि दैनिक १० हजारले मेलाको अवलोकन गर्ने गरेको बताए । निःशुल्करूपमा प्रवेश रहेको मेलामा जुत्ता–चप्पल खरिद गर्ने ग्राहकले १५ देखि ६० प्रतिशतसम्म छुट पाउने मेला संयोजक होमनाथ उपाध्यायले बताए । उनले मेलामा विएफ डियर हिल, रन सुज, क्रस रोड, म्याजिक, सु ल्याण्ड र कोसेली सुजका स्पोर्टस्, क्याजुअल, हवाई चप्पल र बेल्ट बिक्रीमा राखिएको जानकारी दिए ।
मेला अबलोकनका लागि आएका ग्राहकहरुले बजारमा भन्दा निकै सस्तो मुल्यमा जुत्ता चप्पल पाईएको प्रतिकृया दिएका छन् । मेलामा स्वदेशी १० वटा उद्योगका स्टलहरु राखिएको छ भने करीब २ लाखले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ । मेलाको प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गत बुधबार एक समारोहका बिच उद्घाटन गरेका थिए ।