१० असार, धनगढी ।
डायलासिसका लागि सेती प्रादेशिक अस्पताल पुर्याइएका एक व्यक्तिको समयमै उपचार हुन नपाएपछि मृत्यु भएको छ ।
बैतडीको मेलौली नगरपालिका वडा नम्बर ३ का ४७ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको हो । मृतकका आफन्तका अनुसार सेती अस्पताल ल्याएपछि डायलासिस गराउन चिकित्सकहरुले सुझाव दिएका थिए । तर त्यसभन्दा पहिला कोरोना परीक्षण गराउनु पर्ने अस्पतालले बताएको थियो ।
तुरुन्तै डायलासिस गराउनु पर्ने विरामीको ३ दिनसम्म कोरोना परीक्षण नै भएन र मंगलबार राति मृत्यु भयो । सेती प्रादेशिक अस्पतालका अनुसार मंगलबार साँझ कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । सेती अस्पतालमा डायलासिस वार्ड सञ्चालन गर्दै आएको वीरगं हेल्थ केयरका व्यवस्थापक दीपक भट्टले भने डायलासिस गराउन पर्ने जानकारी मंगलबार मात्रै आएको बताए ।
‘भारतबाट आएका व्यक्तिसँग पनि सम्पर्क भएको देखिएकाले पीसीआर जाँच गराउन भनेका हौँ’ सेती प्रादेशिक अस्पतालका डा. शेरबहादुर कमरले भने, ‘अस्पतालमा ल्याएपछि सुरुवातदेखि नै डायलासिस गराउन आग्रह गरिएको हो ।’