विराटनगर,भदौ १८
करिड डेढ महिनादेखि बन्द रहेको विराटनगर जुटमिलको ताला खुलाइएको छ । विराटनगर जुटमिलका कर्मचारीले ३० महिनादेखि गरेको कामको पारिश्रमिक नदिएको भन्दै जुटमिलको मुख्य गेटमै तालाबन्दी गरेका थिए । कर्मचारीले आन्दोलन गरेका कारण जुटमिल संचालनको तयारी गरिरहेको व्यवस्थापन पक्षलाई थप समस्या परेको थियो ।
२४ जना कर्मचारीमध्ये १० जनालाई व्यवस्थापन पक्षले गत असार मसान्तदेखि हाजिर गराएको थिएन । आइतबार राति जुटमिल प्रशासन र कर्मचारीबीचको वार्तामा सहमति हुन नसकेपछि व्यवस्थापन पक्षले एकलौटी ताला तोडेको हो । करार अवधि सकिएर निष्काशनमा परेका कर्मचारीहरूले तलब भत्ता नदिएको भन्दै एक महिना अगाडिदेखि जुटमिलको मेन गेटमै तालाबन्दी गरेका थिए ।
उनीहरूले आफूहरूले पाउनु पर्ने सेवा सुविधा नपाएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । व्यवस्थापन पक्षले भने जीर्ण रहेको मिलले विस्तारै तलब भुक्तानी गर्दै जाने बताएको छ । जुटमिलका अध्यक्ष वसन्त वनले अन्य केही व्यक्तिहरूको प्रभावमा परेर केही कर्मचारीले गरेको अवरोध खुलाएको बताए । आन्दोलित कर्मचारीहरुले भने रानी प्रहरीको रोहबरमा जबरजस्ती आफूहरू नभएको समयमा व्यवस्थापन पक्षले ताला तोडेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।