१२ मंसिर, काठमाडाैँ ।
भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला नेपालको दुई दिने भ्रमण पूरा गरेर नयाँ दिल्ली फर्केका छन् । उनी शुक्रबार अपरान्ह स्वदेश फर्किएका हुन् ।
भ्रमणका क्रममा विदेश सचिव श्रृंगलाले दुई मुलुक कूटनीतिक संवादको बाटो खोल्दै नेपाल–भारतबीच रहेको सीमा समस्यालाई कूटनीतिक संवादमार्फत समाधान गर्ने प्रस्ट पारेका छन् । उनले बिहीबार समकक्षी परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालसँगको द्विपक्षीय वार्ता गरेका थिए ।
लगत्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेसका नेताहरु र शुक्रबार बिहान मधेसका नेताहरुसँगको भेटवार्तामा भारतले पनि नेपालले जस्तै वार्तामार्फत नै समस्याको समाधान खोजेको सन्देश दिए । साथै, उनले आगामी दिनमा नेपाल र भारत बीचमा कूटनीतिक संवाद हुने पनि उनले संकेत गरे ।
उनले शुक्रबारै दिल्ली जानुअघि गोरखामा भारतको सहयोगमा भूकम्पपछि पुनर्निर्माण भएका घरहरुको अवलोकन गरे भने स्कुल भवनको उद्घाटन गरे । साथै, उनले मनाङ पुगेर गुम्बा पनि उद्घाटन गरे । मनाङमा आयोजित कार्यक्रममा उनले बुद्धिजम भारत र नेपाललाई जोड्ने महत्त्वपूर्ण धागो रहेको बताए ।
श्रृङ्गलाको नेपाल भ्रमणले दुई देशबीचको संवादहिनता तोडेको विज्ञहरुले बताएका छन् ।