९ असार, काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा गत जेठ ३१ मा गएको पहिरोका पीडितलाई गृहमन्त्रालयले थप राहत दिने र पुनःस्थापना गर्ने निर्णय गरेको छ ।
गृहमन्त्रालयले पहिरोबाट विस्थापित परिवारलाई पुनःस्थापनाका लागि घर बनाउन थप राहत दिने निर्णय गरेको हो ।
पहिरोको स्थलगत अनुगमनबाट फर्केपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको विशेष पहलपछि गृहमन्त्रालयले राहत र पुनःस्थापना गर्ने निर्णय गरेको गृहले जानकारी दिएको छ ।
यसअघि जिल्ला विपद् व्यवस्थापन समितिले मृतकका परिवारलाई राहत दिएको थियो । समितिले मृतकका प्रति परिवारलाई एक लाख दिन सक्ने व्यवस्था छ ।
गृह मन्त्रालयले यसबाहेक थप रकम दिने निर्णय गरेको हो । मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका उपसचिव गणेशविक्रम शाहीका अनुसार पहिरोमा विस्थापित १३ घरपरिवारलाई अस्थायी घर निर्माण गर्नका लागि प्रतिघरपरिवार ५० हजारका दरले रकम उपलब्ध गराउने निर्णय भएको ।
उक्त रकमबाट अस्थायी घर निर्माण गर्न रकम अपुग भएमा थप ५० हजार उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
थप रकम उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समितिले सिफारिस गर्नुपर्ने उनले बताए ।