निर्वाचन आयोगलाई ओलीको जवाफ : नेकपा विभाजन भएकै छैन, म आधिकारिक हुँ

२९ पुस, काठमाडौं ।

नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नै विभाजन नभएको दाबी गरेका छन् ।

निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई ऐन–नियम र पार्टीको विधानअनुसार विवरण पठाउन पत्राचार गरेकाेमा सोही पत्रको जवाफ दिँदै ओलीले नेकपा विभाजन नभएको र पुष्पकमल दाहाल दोस्रो वरियताको अध्यक्ष कायम रहेको बताएका हुन्।

Advertisement

साथै पार्टीमा आफू आधिकारिक भएको भन्दै उनले अरुले पठाएको जानकारी अभिलेखिकरण गरे निर्वाचन आयोगले नै पार्टी एकताको भंगको घोषणा गरेको हुने दाबी गरेका छन् ।

निर्वाचन आयोगले गत पुस २३ गते दुबै समूहलाई राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार सात दिनभित्र ‘सुधारिएको विवरण’ पेश गर्न भनेको थियो । आयोगले तोकेको म्यादको अन्तिम दिन ओली र प्रचण्ड–माधव दुबै समूहले जवाफ पठाएका छन् ।

Advertisement

ओलीले ११ पृष्ठ लामो जवाफ पठाउँदै भनेका छन्, ‘पुष्पकमल दाहाल समेतले आयोगमा पत्र पठाई पार्टी विभाजनको हिसावले पत्राचार गरेपनि झै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएको छैन र, होइन ।’

आफ्नो नेतृत्वमा आगामी मंसिर २–६ गतेसम्म एकता महाधिवेशन गर्ने निर्णय गरी पार्टीको प्रथम अध्यक्षको नाताले पार्टी एकीकरणको मर्म अनुरुप र विधानअनुसार गठन भएको केन्द्रीय कमिटीमा प्रचण्ड दोस्रो अध्यक्ष र माधवकुमार नेपाल दोस्रो अध्यक्ष रहेको बताएका छन् ।

प्रचण्ड–माधव समूहले पेश गरेको माइन्यूटमा हस्ताक्षर गर्नेहरुमध्ये धेरैले आफूहरुले बोलाएको बैठकमा हस्ताक्षर गरेको समेत उनले दाबी गरेका छन् । पार्टीको बैधानिक व्यवस्था बमोजिम मैले पठाएको बाहेक अन्य कसैले पठाएको अनधिकृत जानकारी अभिलेखिकरण हुनुको अर्थ पार्टी एकताको भंगको घोषणामा हुन जान्छ, जुन कार्य आयोगले गर्न सक्दैन ।’

पार्टीको पहिलो अध्यक्ष भएकाले आफू नै आधिकारिक भएको उनले पटकपटक दाबी गरेका छन् । नेपाललाई अध्यक्ष बनाइएको भन्ने दाहाल–नेपालले आयोगलाई पठाएको पत्राचार र दाबीको कुनै औचित्य र वैधानिकता नभएको पत्रमा उल्लेख छ ।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएयता प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष दाहाल तथा नेपाल पक्षले आयोगमा एकले अर्कालाई कारबाही गरेको भन्दै पत्राचार गरेका थिए ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top