१८ असार, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) स्थायी कमिटीको बैठक पुनः शुरु भई केही बेरमा सम्पन्न भएको छ । अर्को बैठक शनिबार ११ बजे बस्ने तय भएको छ ।
बैठकमा सदस्यहरूले पार्टी एकता गम्भीर सङ्कटमा पुग्नलागेको त होइन ? भन्ने अवस्था आएको र पार्टी एकतालाई हर हालतमा रक्षा र सुदृढ गर्न नेताहरूबीच आपसी छलफल गर्नुपर्नेमा जोड दिएको बैठकपछि पार्टी प्रवक्ता नरायणकाजी श्रेष्ठले बताए ।
त्यसका लागि आजै र भोलि पनि पार्टीका नेताहरूबीच छलफल हनुपर्नेमा सदस्यहरूको जोड रहेकाले शनिबारका लागि बैठक बोलाईएको उनले बताए ।
आजै प्रधानमन्त्री निवास बालुवाटारमा बिहान केही बेर सञ्चालन भएर केहीबेर स्थगित भएको सो बैठक पुनः शुरु भएको थियो । पार्टी अध्यक्ष प्रचण्डले केही बेरअघि राष्ट्रपनि विद्यादेवी भण्डारीलाई भेट गरी बालुवाटार फर्किएपछि बैठक पुन शुरु भएको थियो ।
श्रेष्ठका अनुसार आज मन्त्रिपरिषद् बैठक नबस्ने र संसद् अधिवेशन अन्त्य नगर्ने सहमति ओलीसँग भएको थियो तर बसेर संसद् अधिवेशन अन्त्य गर्नुभयो भनेर दाहालले स्थायी कमिटी बैठकमा ब्रिफिङ गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याइनसकेको बारे आफूलाई स्पष्ट पारेको पनि दाहालले स्थायी कमिटीमा सुनाएका थिए ।