२ पुस, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा बुधबार पनि सदस्यहरुले आलोचनात्मक धारणा राखेका छन् । बुधबारको बैठकमा स्थायी कमिटी सदस्यहरुले अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमाथि आफ्नो धारणा राखेका हुन । राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई समर्थन गर्दै सदस्यहरुले संगठन, विचार, पार्टीको आचारसंहिता,पार्टीका आगामी कार्ययोजना, विकास र सरकारको भूमिकाका सन्दर्भमा १२ जना सदस्यहरुले आफ्नो धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
नेकपा स्थायी कमिटी सदस्यभीम रावलले मिले नियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) इण्डो प्यासिफिक रणनीतिसँग सम्बन्धित छैन भने केहीबुँदाहरुमा सुधार गर्दै जानुपर्ने धारणा बैठकमा आएको बताए । रावलले अमेरिकी सहायक मन्त्रीहरुले खुला रुपमा एमसीसी इण्डो प्यासिफिक रणनीतिसँग सम्बन्धित रहेको बताउँदै आएको उल्लेख गर्दै आफुले बैठकबाट सबैको ध्यानाकर्षण गरेको बताए । कुनै पनि सम्झौताहरु देशको संविधान भन्दा माथि नहुने र दुई देशबीचको सम्झौतामा तेस्रो देशको नाम उल्लेख नगर्न सुझाव दिएको उनले बताए । सम्झौताका कतिपय सर्तहरु नेपालको स्वाधिनता र स्वतन्त्रतासँग मेल नखाने रहेको उनको भनाई छ ।
अमेरिकाले नेपालको सडक विकास, प्रसारण लाइनको विकासका लागि मात्रै गर्न सहयोग गर्न खोजेको हो भने अहिलेको सम्झौताका केहीबुँदाहरु संशोधन हुनुपर्ने बताए । दुईदेशबीच पुनःवार्ता गरेर एमसीसीको सम्बन्ध ईण्डो प्यासिफिक रणनीतिकसँग छैन भन्ने कुरा सम्झौतामै उल्लेख गर्नुपर्ने उनको माग थियो । रावलले पार्टीबाट निर्णय नभइ संसदबाट पास हुने अवस्था नआउनेमा आफु विश्वस्त रहेको बताए ।