१६ असोज, काठमाडौं ।
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले चीनबाट हुने उच्चस्तरको भ्रमणले दुई देशबीच बलियो आर्थिक साझेदारीको जग बसाउने विश्वास नेपालले लिएको बताए ।
संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर विहीबार काठमाडौँ फर्कदै गर्दा विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै चीनका राष्ट्रपति सी जिंगपिङको भ्रमणले आर्थिक साझेदारीको जग बसाउने बताएका छन् ।
मन्त्री ज्ञवालीले नेपालले छिमेकी राष्ट्रको बिकास सहायताले नेपालको विकासमा आर्थिक साझेदारीको नयाँ आयाम बनाउने पनि बताए । भ्रमणको मिति तोक्ने विषयमा दुवै देशका अधिकारीहरु गृहकार्यमा लागिरहेकोले निर्णयमा नपुगेको पनि बताए ।
मन्त्री ज्ञवालीले राष्ट्रपति सी भ्रमणको दौरान दुई देश बीच हुने छलफलका एजेन्डामा मुख्यरुपमा केरुङ्ग रसुवा काठमाडौँ रेलमार्ग हुने बताए । यसका साथै प्राविधिक विश्वविद्यालयको निर्माण पनि छलफलको एजेन्डामा पर्ने बताए ।
यस्तै मन्त्री ज्ञवालीले न्युयोर्कमा भएको सार्क परराष्ट्र मन्त्री स्तरीय बैठक पनि सकारात्मक भएको बताए । सार्कको अध्यक्षको हैसियतले नेपालले सार्क परराष्ट्र मन्त्रीस्तरीय बैठक बोलाएको थियो ।
बैठकमा भारत र पाकिस्तानका परराष्ट्रमन्त्रीले कश्मीरका विषयमा एक अर्कामा आरोप लगाएको र बैठक ठोस निष्कर्षमा नपुगेको समाचारहरु आएका थिए तर परराष्ट्रमन्त्री ज्ञवालीले बार्ताले संवादको थालनी गरेको बताए ।
मन्त्री ज्ञवालीले नेपालको संक्रमणकालीन न्यायको बारेमा समेत महासभाका विषयगत समितिमा चासो ब्यक्त भएको बताए । मन्त्री ज्ञवालीले छलफलमा नेपालले संक्रमणकालको अन्त्य गर्न आफ्नो मौलिक विधि प्रयोग गर्ने बताएको जानकारी दिए ।
नेपालले न्याय ब्यबस्थापनमा बिस्तृत शान्ति सम्झौता,नेपालले अङ्गीकार गरेको प्रतिबद्धता जनाएको अन्तराष्ट्रिय सहमति सम्झौता,नेपालको सर्वोच्च अदालतले गरेका विभिन्न फैसला र नेपालको आफ्नो मौलिक सहमतिलाई आधार बनाएर सम्पादन हुने विश्वास दिलाएको बताए ।
पछिल्लो समय सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता परिवार खोजबिन आयोग गठन गर्न ढिलाई गरेको भन्दै मानव अधिकारमा काम गरिरहेका संयुक्त राष्ट्रसंघका विभिन्न संस्थाले चासो ब्यक्त गरेका छन् । साथै परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो सहभागिता फलदायी भएको बताए ।