नेपालसँगको सम्बन्धलाई उच्च महत्व

२१ बैशाख ७५, शनिबार

काठमाडौँ, २२ वैशाख ः नेपालको तीन दिवसीय भ्रमणमा रहनुभएका गणतन्त्र सर्वियाका प्रथम उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री इभिका डायसिसले नेपालसँगको सम्बन्धलाई आफ्नो देशले उच्च महत्व दिएको बताएका छन् ।

परराष्ट्र मन्त्रालय र नेपालका विश्व सम्बन्ध परिषद्ले आज काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा उनले नेपालासँगको सम्बन्ध विस्तारलाई आफ्नो देशको सरकारले उच्च प्राथमिकता दिएको बताए ।

उनले पारस्परिक सम्बन्ध व्यापार, लगानी, पर्यटन, शैक्षिक, सांस्कृतिक एवं प्राविधिक सहयोगका क्षेत्रमा समेत फैलनुपर्ने बताउँदै अन्तर्राष्ट्रिय शान्ति, विकास र समृद्धिका निम्ति सर्वियाले सधैँ सक्रिय परराष्ट्र नीति सञ्चालन गर्ने गरेको धारणा व्यक्त गरे ।

Advertisement

अन्तर्राष्ट्रिय कानूनको परिपालना आफ्नो देशको सारतत्व भएको उल्लेख गर्दै परराष्ट्रमन्त्री डायसिसले समग्र युरोपको आर्थिक विकासमा सर्वियाले सक्दो योगदान गर्ने बताए ।

उनले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) र युरोपेली संघको सदस्यताका निम्ति आवेदन गरेको पनि जानकारी दिए ।

Advertisement

परराष्ट्र मन्त्रालयका सहसचिव घनश्याम भण्डारीले नेपाल र सर्विया दुवै भूपरिवेष्टित मुलुक भएकाले दुवै देशले अन्तर्राष्ट्रिय र क्षेत्रीय मञ्चहरुमा साझा अवधारणा प्रस्तुत गर्दै आएको बताए ।

सर्वियामा हालै नेपालको व्यापारिक समूह चौधरी ग्रुपले वाइवाइ चाउचाउको उत्पादन कारखाना सञ्चालन गरेसँगै व्यापारिक सम्पर्क विस्तारको बाटो खुलेकाले त्यसलाई थप व्यापारबाट अझ विस्तार गर्न दुवै देशका व्यापारिक प्रतिष्ठान लाग्नुपर्नेमा उनले जोड दिए ।

परिषद्का अध्यक्ष हेमन्त खरेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा महासचिव अशिम थापा र कोषाध्यक्ष रवीन्द्रप्रसाद भट्टराईले नेपाल–सर्विया सम्बन्धका विविधपक्षबारे चर्चा गरे ।

यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शुक्रबार नै सर्वियाका प्रथम उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री डायसिसले भेटवार्ता गरे ।

त्यस अवसरमा नेपाल–सर्विया सम्बन्धका सबैपक्षबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । शुक्रबार काठमाडौँ आउनुभएका सर्वियाली विशिष्ट पाहुनाको सम्मानमा मन्त्री ज्ञवालीले शुक्रबार नै रात्रिभोजको आयोजना गरेका थिए ।

काठमाडौँमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको पनि उक्त मन्त्रालयले जनाएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top