५ असार, काठमाडौँ ।
सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेपाल एक चीन नीतिमा स्पष्ट रहेको बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीसँगको भिडियो कन्फ्रेन्समा अध्यक्ष दाहालले नेपाल एक चीन नीतिमा स्पष्ट रहेको बताएका हुन् ।
कन्फ्रेन्समा सहभागि नेकपा केन्द्रीय सदस्य विशाल भट्टराईका अनुसार अध्यक्ष दाहाल र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल एक चीन नीतिको पक्षमा स्पष्ट रहेको बताएका हुन् । दुई देशबीचको सम्बन्ध सुमधुर बनाउँदै अहिलेको चुनौतीको सामना गर्न दुई पार्टी बीचको सम्बन्ध पनि मजवुद हुनुपर्ने कुरा कन्फ्रेसमा भएको उनले बताए ।
नेकपा स्कुल विभाग उपप्रमुख वेदुराम भूसालले चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा शुभकामना आदानप्रदान गर्न कन्फ्रेन्सको आयोजना भएको बताए । कन्फ्रेन्समा चीनले तिब्बतमा गरेको विकासको मोडल, दुई देशको सम्बन्ध र दुई पार्टीको सम्बन्ध कसरी सुमधुर बनाउने भन्ने विषयमा कुराकानी भएको उनले बताए ।
कन्फ्रेन्समा नेपालको तर्फबाट अध्यक्ष दाहाल, उपप्रधानमन्त्री पोखरेल, स्कुल विभाग उपप्रमुख बेदुराम भूसाललगायतका नेताहरुको सहभागिता थियो । चीनको तर्फबाट चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ र तिब्बतविभाग सचिव यु याङ लगायतको सहभागिता रहेको थियो ।