२२ मंसिर, बिराटनगर । पूर्वका तीन छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । सुनसरी र झापाका ३ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा यस्तो हताहती भएको हो ।
शनिबार दिउँसो सप्तरीबाट रामधुनी तर्फ जन्ती बोकेर आउदै गरेको ना ५ ख ४९८९ नम्बरको बसका सह चालक सप्तरीको सप्तकोशी नगरपालिका १ बस्ने बर्ष ४५ को सन्तोष गुप्ता बसमा काम गर्ने क्रममा लडेर घाईते भएपछी उपचारको लागी न्युरो अस्पताल बिराटनगर ल्याईएकोमा उपचारको क्रममा साँझ ६ बजेको उनको मृत्यु भएको थियो ।
यसैगरी सुनसरीको ईटहरी उप महानगरपालिका १३ खनारमा रोकेको ट्रकमा मोटरसाईकल ठोक्किदा मोटारसाईकल चालकको मृत्यु भएको छ ।
शनिबार बेलुका सडकको साईडमा रोकेर ट्रक ड्राईभरले अगाडिको सिसा पुछिरहेको अवस्थामा ईटहरीबाट बिराटनगर तर्फ जादै गरेको को १४ प ६०२३ नम्बरको मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालक ईटहरी ११ खनार बस्ने वर्ष २५ का अशोक चौधरी गम्भिर घाईते भएका थिए भने ट्रक चालक सिन्धुली ६ बस्ने वर्ष ३१ को गंगाप्रसाद नेपाल समेत घाईते भएका थिए ।
घाईते दुबैजनालाई उपचारको लागी न्युरो अस्पताल विराटनगर लागिएकोमा उपचारको क्रममा राती साढे १० बजे मोटरसाईकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यसैगरी झापाको कन्काई नगरपालिका ७ बिरिङखोला पुलको पूर्व पश्चिम राजमार्गमा दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।
शनिबार राती साढे ९ बजे पश्चिमबाट पूर्व तर्फ आउदै गरेको मे १० प २९५४ नम्बरको मोटरसाईकल र बिपरित दिशा तर्फ जादै गरेको मे ११ प २९२८ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा घाईते भएका ३ जनालाई नै उपचारको लागि बि.एण्ड.सी. अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा मोटरसाईकल चालक नितेश न्यौपानेको मृत्यु भएको हो ।
अन्य २ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ ।