प्रदेश सांसद र नगर सभापतिबीच कुटाकुट

0SHARES

४ मंसिर २०७६ नेपाल टाईम्स

४ मंसिर, वीरगंज ।
प्रदेश नम्बर २ का नेपाली कांग्रेसका सांसद एवम् वीरगंजका उद्योगी ओमप्रकाश शर्मा र कांग्रेसकै वीरगंज नगर सभापति भोला कलवारबीच चिया पसलमा कुटाकुट भएको छ।

बुधबार बिहान करिब साढे ७ बजे आदर्शनगरस्थित ‘बब्लु टि स्टल’ मा फिल्मी शैलीमा शर्मा र कलवारबीच कुटाकुट भएको प्रत्यक्षदर्शीहरुले बताए।

पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले दुबैबीच कुटाकुट भएको सुनिए पनि घटनाबारे बुझ्ने काम भइरहेको बताए। राठौरले दुईबीचको कुटाकुटमा घाइते भइ उपचारको लागि नारायणी अस्पतालमा लगिएको जानकारी पाएको बताए।

वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका शर्माले कलवारले चिया पसलमा आफूलाई गालीगलौज गरेपछि सम्झाउँन खोज्दा घडिअर्वाको स्थानीय युवा बोलाएर कुटपिट गरेको बताए।

घटनाबारे भोलासँग जानकारी लिन खोज्दा उनी अस्पतालमा उपचार गराइरहेको उनका भतिजाले जानकारी दिए। नाकबाट रगत बगिरहेकाले उपचारको क्रममा रहेको उनले बताए।

भोला वीरगंजको टाउन हलका सञ्चालक समेत हुन्। २२ वर्षका लागि महानगरपालिकासँग लिजमा लिएर उनले हल चलाउँदै आएका छन्।

टेण्डरको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता भएको भन्दै लिज खारेज गर्न महानगरसँग कागजात माग गरेको छ।

सांसद शर्माले सार्वजनिक कार्यक्रममा टाउन हल वीरगंजबासीको साझा सम्पति भएकोले न्यून शुल्कमा २२ वर्षको लागि लिजमा दिनुलाई गलत भन्दै आएका थिए। सार्वजनिक अभिव्यक्तिपछि एकै पार्टीका दुईबीच मनमुटाव चल्दै आएको थियो।

शर्माले कलवारले आफूलाई कुटपिट गरी उल्टै अस्पताल भर्ना भएको पनि दाबी गरे।

विज्ञापन बक्स