विराटनगर : प्रदेश १ का एक सयवटा सामुदायिक विद्यालयमा प्रविधिमा आधारित शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालनका लागि तयारी थालिएको छ । सामाजिक विकास मन्त्रालय र कार्यक्रमका लागि साझेदार संस्थाका रुपमा रहेको इक्वालिटी फाउण्डेशन अर्गनाइजेसनबीच बुधबार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आयोजित एक कार्यक्रमका बीच मन्त्रालयका कामु सचिब उपेन्द्र दाहाल र फाउण्डेशनका अध्यक्ष डा ऋषि साहले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार कार्यक्रम सञ्चालनका लागि ६ करोड रुपैँयाको बाँस्केट फण्ड तयार गरिएको छ । त्यसमा प्रदेश सरकारले २ करोड, साझेदार संस्था इक्वालिटी फाउण्डेशनले २ करोड र सम्बन्धित पालिका र विद्यालयबाट जुट्ने दुई करोडबाट एक सयवटा विद्यालयमा सुविधासम्पन्न ल्याबको स्थापना गरिने जनाईएको छ ।
कार्यक्रम सञ्चालन हुने एउटा विद्यालयले कुल ६ लाख रुपैँयाको लागतमा कम्प्युटर, तीब्रगतिको इन्टरनेट, प्रोजेक्टर लगायत विद्यतीय शिक्षण प्रविधिका सामाग्रीहरु जडान हुनेछन् । , यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।