विराटनगर, फागुन ११
राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्र्तगत विराटनगर महानगरपालिको यही फागुन १५ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने भएको छ । विराटनगर महानगरपालिकाको स्वास्थ्य शाखाले आज पत्रकार सम्मेलन गरी महानगरपालिका भित्र हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने जनाएको हो ।
विराटनगर महानगरमा यसपटक २ लाख ४० हजार मानिसहरुलाई हात्तीपाइले विरुद्धको औषधि खुवाउन लागिएको स्वास्थ्य महाशाखाकी प्रमुख लजिता योञ्जनले जानकारी दिइन् । यसपटक स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा १५ दिन सम्म औषधी खुवाइने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । २ सय ९२ केन्द्रहरुवाट औषधि खुवाइने योञ्जनले जानकारी दिइन् ।
महानगरपालिका भित्रको कुलजनसंख्या २ लाख ४० हजार ५ सय ५ जनामा आथिर्क बर्ष २०७४ सालमा ५३ हजार ५ सय ८८ ले मात्र हातीपाइले रोग विरुद्धको औषधि सेवन गरेको तथ्याङक प्रस्तुत गरिएको थियो । अर्थात २६ प्रतिशतले मात्र औषधि सेवन गरेको कार्यक्रममा जानकारी दिइएको थियो । हात्तीपाइले रोग लागेमा समयमै औषधि सेवन गरेमा यो रोग निको हुने बताउदै प्रदेश स्वास्थ्य कार्यालयका मोरङका प्रमुख ज्ञानवहादुर वस्नेतले सबैलाई औषधि सेवन गर्न अपिल गरे । विराटनगर महानगरका मेयर भीम पराजुलीले महानगरबासी सवैलाई औषधि खाई रोगबाट बच्न अनुरोध गरे ।