६ फागुन, काठमाडौं ।
नेपाल फिफा वरियतामा १ सय ७१ औं स्थानमा यथावत रहेको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार जारी गरेको वरियतामा नेपालको वरियतामा कुनै परिवर्तन छैन ।
दक्षिण एसियाली राष्ट्रमध्ये अग्रस्थानमा रहेको भारत १ सय ४ स्थानमा छ ।माल्दिभ्स १ सय ५५ औं स्थानमा छ । त्यसबाहेक अन्य दक्षिण एसियाली राष्ट्र भने फिफा वरियतामा नेपालभन्दा पछि रहेको छ । बंगलादेश १ सय ८६ औं, भुटान १ सय ८९ औं, पाकिस्तान २ सयौं र श्रीलंका २ सय छैटौं स्थानमा रहेको छ ।
कोरोना केहि नियन्त्रणमा आएपछि गत नोभेम्बरमा नेपालले बंगलादेश पुगेर दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा पहिलो खेलमा हार बंगलादेशसँग हार बेहोरेको नेपालले दोस्रो खेलमा बराबरी गरेको थियो । अर्को महिना विश्व कप छनोटअन्तर्गत नेपालले दुई खेल घरेलु मैदानमा खेल्नेछ ।
फिफा वरियताको शीर्ष १० मा पनि कुनै परिवर्तन भएको छैन । नयाँ वरियता अनुसार बेल्जियम शीर्षस्थानमा छ भने, फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो, पोर्चुगल पाँचौं स्थानमा छ । त्यस्तै स्पेन छैटौं, अर्जेन्टिना सातौं, उरुग्वे आठौं, मक्सिको नवौं र इटाली दसौं स्थानमा छ ।