८ भदौ, एजेन्सी ।
जर्मन क्लब बायर्न म्युनिकले छैटौंपल्ट युरोपेली च्याम्पियन्स लिगको जितेको छ । आइतबार राती भएको फाइनल खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० ले पराजित गर्दै बायर्नले ७ वर्षपछि च्याम्पियन्स लिग उपाधि जितेको हो ।
पोर्चुगलको लिस्वनमा भएको खेलमा बार्यनका लागि किंग्सली कोमनले ५९ औं मिनेटमा गोल गरे । उनले जोसुआ किमिचको पासलाई हेड गर्दै उनले खेलको एक मात्र निर्णायक गोल गरेका हुन् । आफ्नै देशको क्लबलाई हराउन गोल गरेका २४ वर्षीय कोमनले करियरको २०औं उपाधि जितेका छन् ।
बायर्नले युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जितेको यो छैटौं पल्ट हो । पीएसजीले भने पहिलोपल्ट च्याम्पियन्स लिगको फाइनल खेलेको थियो । बायर्नले यससँगै यो सिजन तेस्रो उपाधि जितेर ‘ट्रेबल’ को दुलर्भ उपलब्धि पनि हात पारेको छ । बायर्नले यसअघि घरेलु बुन्डेसलिगा र जर्मनकप पनि जितेको थियो ।
खेलको ‘म्यान अफ द म्याच’ बायर्न गोलरक्षक म्यानुएल नोया रहे । उनले उत्कृष्ट प्रदर्शन गरे । त्यस अगाडि पीएसजीका नेयमार र केयलिन एमबापेको प्रदर्शन फिक्का परेको थियो ।
च्याम्पियन्स लिग सर्वाधिक जित्नेमा बायर्न लिभरपुलसँगै संयुक्त रुपमा तेस्रो स्थानमा उक्लेको छ । रियल मड्रिडले सर्वाधिक १३ र एसी मिलानले ७ पटक उपाधि जितेका छन् ।