२२ कार्तिक, विराटनगर ।
धरान उपमहानगरपालिकाका थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरान–९ बस्ने ६७ वर्षीया र वडा नं १६ की ८१ वर्षीया महिला छन् । उनीहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मधुमेह र मानसिक समस्या रहेकी धरान–९ की महिलालाई कात्तिक १८ गते कोभिड अस्पताल भर्ना गरिएको थियो । पीसीआर जाँच गर्दा कात्तिक १९ गते कोरोना पुष्टि भएकी उनको शुक्रबार बेलुकी साढे ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसै गरी धरान–१६ की महिलालाई कात्तिक १९ गते कोरोना पुष्टि भएपछि कात्तिक २० गते कोभिड अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचापको समस्याबाट पीडित उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै शनिबार बिहान २ बजे मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ ।
धरानमा कोरोना संक्रमणबाट हालसम्म ६८ जनाको मृत्यु भएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताएका छन् । उनका अनुसार पछिल्लो समय समुदायस्तरमा पीसीआर परीक्षण घटेको छ ।