१४ चैत्र, एजेन्सी ।
कोरोना खोप अभियानलाई भारत सरकारले तीव्रता दिए पनि संक्रमण भने कम भएको छैन ।
शुक्रबार एकैदिन भारतमा ६० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । ५ महिनापछि भारतमा एकैदिन यो संख्यामा संक्रमण देखिएको हो ।
पछिल्ला १५ दिनमा भारतमा संक्रमण निकै तीव्र बनेको छ । शुक्रबार मात्रै भारतमा ३२ हजार सक्रिय केस थपिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोनाले थप २ सय ८९ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६० हजार ९ सय नाघेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या १ करोड १८ लाख ४६ हजारभन्दा बढी पुगेको छ भने संक्रमण पुष्टि भएकामध्ये १ करोडभन्दा बढी निको भएका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म ५ करोड ८१ लाखभन्दा बढीले कोरोना खोप लगाइसकेका छन् ।
भारतमा कोरोना भाइरसको संक्रमण तीव्र बनिरहेकै बेला नयाँ प्रकारको भाइरसको त्रास थपिएको छ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पहिलोपटक कोरोना भाइरसको थप परिवर्तित ‘डबल म्युटेन्ट’ भाइरस भेटिएको जनाएको छ ।
मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै विभिन्न १८ राज्यमा गरिएको नमुना परीक्षणमा कोरोनाको नयाँ प्रकारको ‘डबल म्युटेन्ट’ जीवाणु फेला परेको जनाएको हो ।
त्यसैगरी, यसअघि नै पुष्टि भएका कोरोनाका नयाँ प्रकारका जीवाणुहरू पनि पर्याप्त संख्यामा भेटिएका मन्त्रालयले उल्लेख गरेको छ ।