१२ मंसिर, काठमाडौं । हिजो भिटामिन ’ए’ र जुकाको औषधि खुवाउन छुटेका बालबालिकालाई आज खुवाइँदैछ ।
तर अहिलेको खोप कार्यक्रममा छुटेका बालबालिकालाई पायक पर्ने स्वास्थ्य संस्थामा सम्पर्क गर्न सरकारले आग्रह गरेको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बालबालिकालाई अहिलेको खोप कार्यक्रममा छुटेका छन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका बालबालिकालाई अहिले भिटामिन ए र जुकाको औषधि नखुवाउन सरकारले आग्रह गरेपछि केही बालबालिका छुटेका छन् ।
त्यस्ता बालबालिकालाई सञ्चो भएपछि मात्रै पायक पर्ने स्वास्थ्य संस्थामा सम्पर्क गर्न भनिएको छ । कोरोना सङ्क्रमण जोखिमका कारण अहिले भिटामिन ए र जुकाको औषधि अलग्गै अभिभावकलाई दिएर आफ्ना बालबालिकालाई खुवाउनु भनिएको छ ।
खोपमा सहभागी स्वास्थ्यकर्मी, बालबालिका र अभिभावकलाई सावधानी अपनाउन र सचेत रहन स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख केदार पराजुलीले आग्रह गरेका छन् । उनका अनुसार केन्द्रमा रहने स्वास्थ्यकर्मीलाई दूरी कायम गरेर, मास्क लगाएर सेवा दिन निर्देशन दिइएको छ । एउटा बुथमा १० जनाभन्दा धेरै जम्मा हुन नपाइने व्यवस्था छ । तर पनि केन्द्रहरुमा सुरक्षा सावधानीमा ध्यान नदिइएको पाइएको भन्दै उनले चिन्ता समेत व्यक्त गरेका छन् ।
अभिभावकले पनि केन्द्रमा पुगेर घरमा फर्कदासम्म मास्क लगाउने, सम्भव भएसम्म पटकपटक साबुनपानीले हात धुने, नभए स्यानिटाइजर प्रयोग गर्ने, जाँदा आउँदा बाटोमा तथा भिटामिन र जुकाको औषधि खुवाउने ठाउँमा पनि भीडभाड नगर्ने, दूरी कायम गर्ने लगायतका स्वास्थ्य मापदण्ड अपनाउन उनको आग्रह छ ।
सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाउने अभियान चलाउँदै आएको छ । यसपटक कोरोना भाइरसको जोखिमका कारण खोप कार्यक्रम पछाडि धकेलिएको हो ।
परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर भिमसिंहका अनुसार ६ महिनाको अन्तरमा जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउनुपर्छ । कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै महिला स्वास्थ्य स्वयंसेविकाले नियमित लिँदै आएको ६ देखि ५९ महिनासम्मका बालबालिकाहरूको पाखुराको नाप भने अहिलेलाई स्थगित गरिएको छ ।