८ जेठ, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेकी छन् ।
प्रतिनिधि सभा सदस्यका लागि कात्तिक २६ र मंसिर ३ गते चुनावको घोषणा भएको हो ।
यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६ को उपधारा ७ अनुसार प्रतिनिधि सभा भङ्ग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
यो धारामा ‘धारा ७६ को उपधारा ५ बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने’ भन्ने उल्लेख छ ।
प्रतिनिधि सभा भङ्ग गर्नुअघि राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीका लागि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको दाबी अस्वीकार गरेकी थिइन् ।
राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्तिका लागि संसदको विश्वासको मत प्राप्त गर्ने आधार पेस गर्न आह्वान गरेपछि ओली र देउवाले दाबी पेस गरेका थिए ।
देउवाले कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमालेको माधव नेपाल समूहका २६, जसपा उपेन्द्र यादव समूहका १२ र राष्ट्रिय जनमोर्चाका एक गरी १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीको लागि दाबी गरेका हुन् ।
यस्तै ओलीले एमालेका १२१ र जसपाका ३२ गरी १५३ सांसदले आफूलाई समर्थन गर्ने दाबी गरेका थिए तर दुवैलाई समर्थन गर्ने भनिएका कतिपय सांसदहरु दोहोरो परेको, दलको निर्णय विपरीत एकले अर्कालाई समर्थन गरेको र सम्बन्धित दलले मान्यता नदिन लेखेर आएको भन्दै राष्ट्रपतिले दुवैको दाबी नपुग्ने निर्णय गरेकी हुन् ।
मध्यरातमा राष्ट्रपतिको यो निर्णयसँगै मन्त्रिपरिषद्को बैठक बसेर प्रतिनिधि सभा विघटन गरेर चुनावमा जानको लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । लगत्तै मध्यरातमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गरीन् ।