२० जेठ, काठमाडौं ।
नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय १७ वटा भ्रातृ संगठनहरूले पार्टी र जनसंगठनहरूका सबै संरचनालाई २०७५ जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन हुने र नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने सामूहिक घोषणा गरेका छन् ।
बिहीबार संयुक्त वक्तव्य जारी गर्दै अध्यक्ष केपी शर्मा ओलीसँग फागुन २८ यता गरिएका निर्णय सच्याउन पनि माग गरेका छन् ।
‘पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन र पार्टी विधानको विपरीत बनेको अवैध कमिटी र अध्यक्षले गरेको यो कारबाही आफैंमा अर्थहीन छ ।
यस प्रकारको स्वेच्छाचारी निर्णयको हामी भर्त्सना गर्दछौं । तत्काल फिर्ता लिन माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ । यदी पार्टीलाई २ जेठ २०७५ अगाडिको अवस्थामा नल्याइए अलग पार्टी बनाउने चेतावनी पनि दिइएको छ ।
‘प्रधानमन्त्री ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक व्यवस्था र संबिधान गुम्ने खतरा पैदा भएको छ भने पार्टी विधानविपरीतका एकपछि अर्को गरिएका स्वेच्छाचारी निर्णयले नेकपा(एमाले)र कम्युनिष्ट आन्दोलन संकटमा परेको छ ।
संविधान, पार्टी विधान र पद्धतिविरुद्ध गरिएका सम्पूर्ण निर्णयहरू सच्याएर सुदृढ र एकतावद्ध नेकपा ९एमाले० निर्माणको लागि हामी अध्यक्ष ओलीलाई आग्रह गर्दछौं ।’ विज्ञप्तीमा उल्लेख छ ।