९ चैत, विराटनगर ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशबासी जनताको स्वास्थ्यको जिम्मेवारी प्रदेश सरकारले लिने बताएका छन् । मोरङ्गको टाँडीमा निर्माण भएको क्वारेन्टाईनको स्थलगत निरीक्षण गर्न पुगेका मुख्यमन्त्री राईले कोरोना नियन्त्रण गर्न प्रदेश अन्तर्गतका भारतसँग सीमा जोडिएका साना नाकाहरु आजबाट बन्द गरेको पनि जानकारी दिए ।
क्वारेन्टाईनस्थलको निरीक्षण गर्दै मुख्यमन्त्री राईले प्रदेशका जनताको सुरक्षामा प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताए । प्रदेश सरकारले कोभिड –१९ नियन्त्रणका सम्वन्धमा कार्य योजना बनाएर सार्वजनिक गरेको उनले जानकारी दिँदै यसको कार्यान्वयन तीव्र गतिमा भइरहेको बताए । प्रदेशमा निर्माण हुने ५० शैय्याको आइशोलेशन वार्डको निर्माण एक हप्ता भित्रमा सम्पन्न गर्न तीव्र गतिमा काम भइरहेको मुख्यमन्त्री राईले जानकारी दिए । प्रदेशका नागरिकलाई कोभिड–१९ को सङ्क्रमणबाट बचाउन उच्च प्राथमिकतामा राखिएको र प्रदेशका आवश्यक्ता अनुसार क्वारेन्टाइन र आइशोलन वार्ड निर्माण गरिएको उनले बताए ।
प्रदेश सरकार र नेपाली सेनाको सहकार्यमा टाँडीमा दुई सय वेडको क्वारेन्टाईन केही दिन अगाडि निर्माण भएको थियो ।