४ असार, काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची बजारमा बाढीले विस्थापित बनाएकाहरुलाई मेलम्ची नगरपालिकाले खानाको व्यवस्था गरेको छ ।
मङ्गलवार राति आएको बाढीले विस्थापित भएकाहरुलाई समूह बनाएर विद्यालय भवन, सैनिक ब्यारेक तथा खाली जग्गामा पाल टाँगेर खाना खुवाउने व्यवस्था गरेको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले जानकारी दिए ।
अहिले साँढे चार सय जनाभन्दा धेरैले नगरपालिकाले सञ्चालन गरेको मेसमा खाना खाइरहेको उनले बताए । मेलम्ची बजारका ७० भन्दा धेरै घर बाढीले बगाएको वा हिलोमा पुरिएका छन् ।
ती घरमा व्यवसाय गर्नेहरु तथा साना छाप्रा बनाएर व्यवसाय गर्नेहरु थुप्रै विस्थापित भएका र लगत सङ्कलनको काम भइरहेको मेयर अर्यालले बताए ।
विस्थापितहरु घर फर्कन सक्ने अवस्था नरहेकाले नगरपालिकाले अझै लामो समय खाना खुवाएर अस्थायी बासस्थानमा राख्नुपर्ने बाध्यता रहेको उनले बताए ।
विस्थापितमध्ये धेरैजसोलाई नगरपालिकाले अस्थायी बसोबासको व्यवस्था गरेको छ भने केही खाना खाएर आफन्तको घर तथा आफूहरुले बनाएका अस्थायी संरचनामा बस्न जाने गरेका छन् ।
आज मौसम केही सफा भएकाले लगत सङ्कलन तथा राहतका काममा केही सहजता भएको मेयर अर्यालले बताए । बाढीले मेलम्ची र हेलम्बुमा गरी १० वटा झोलुङ्गे पुल, ६ वटा पक्की पुल र सात वटा ट्राउट माछा फार्म बगाएको छ ।
मेलम्ची खानेपानी आयोजना र निर्माणाधीन मुनलाइन हाइड्रोपावरमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
व्यक्तिका घर तथा व्यवसाय तथा बालीनालीमा भएको क्षतिको तथ्याङ्क सङ्कलन भइरहेको छ ।