१० जेठ, काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यो वर्षको एसईई परीक्षा भौतिक रूपमा गर्ने सम्भावना न्यून रहेको बताए । यसका लागि विभिन्न विकल्पको बारेमा छलफल भइरहेको जानकारी गराए ।
राष्ट्रिय परीक्षा बोर्डले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनका आधारमा परीक्षाको मोडालिटीको बारेमा निर्णय हुने जानकारी दिए ।
एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्ने क्रममा मन्त्री श्रेष्ठले यस्तो जानकारी दिएका हुन् । सङ्गठनका अध्यक्ष ऐन महरसहितको टोलीले मन्त्री श्रेष्ठलाई १३ बुँदे ज्ञापनपत्र बुझाएको थियो ।
मन्त्री श्रेष्ठले एसईई र कक्षा १२ को परीक्षाको विषयमा मन्त्रालयले यही महिनाभित्र जानकारी दिने उल्लेख गर्दै भने, ‘सबै परीक्षाको विषयमा चाँडै निर्णय गर्नेछौँ ।’
उनले सरकारले आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा शिक्षाको बजेट बढ्न सक्ने आकलन गर्दै नयाँ–नयाँ योजना आउन सक्ने उल्लेख गर्नुभयो । उनले भने , ‘तपाईँहरूले शिक्षामा २० प्रतिशत बजेट आवश्यक रहेको उल्लेख गर्नुभएको छ । सरकारले यो विषयमा विचार गरिरहेको छ ।’
मन्त्री श्रेष्ठले अबको शिक्षा गुणस्तरीय र रोजगारमूलक हुनुपर्ने बताए । अब परम्परागत शिक्षा अहिलको आवश्यकता होइन, प्रयोगात्मक र प्रविधियुक्त शिक्षा आजको आवश्यकता हो, मन्त्री श्रेष्ठको भनाइ थियो ।
ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले सबै विश्वविद्यालयको रोकिएको परीक्षा, अनलाइनमा कक्षा लिएबापतको शुल्क घटाउनुपर्ने, सबै सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको जानकारी गराए ।