६ मंसिर, चितवन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा महाराजा जस्तो गरेर हिँडने राष्ट्रपति नभइ जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाउन सकिने बताएका छन्।
सोमबार पूर्वी चितवनस्थित टाँडीमा माओवादी केन्द्रको अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाउनु पर्ने बताएका हुन्।
’राजा महाराजा जस्तो गरेर हिँडने राष्ट्रपति नभइ जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाउन सकिन्छ,’ उनले भने, ’प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा गयौं भने राम्रो हुन्छ।’ त्यसका लागि सबै केही दिन सडकमा आइदिए पुग्ने उनको भनाइ थियो।
निर्वाचन खर्चिलो हुँदै गएको भन्दै उनले निर्वाचन प्रणाली हेरफेर गर्नुपर्ने बताए। उनले प्रत्यक्ष भन्दा पूर्ण समानुपातिक निर्वाचन प्रणाली उपयुक्त रहेको बताए।
’निर्वाचन प्रणाली हेरफेर गरेर एकै चोटी गर्ने प्रस्ताव त मैले राखिसकेको छु’ प्रचण्डले भने, ’खर्चिलो निर्वाचन प्रणाली पूर्ण समानुपातिक निर्वाचन प्रणाली बनायो भने कसैको खर्च पनि पर्दैन।’
भडकाववादीलाई परास्त गर्न तयार रहन प्रचण्डले कार्यकर्तालाई आग्रह गरे। आफू चितवनमात्र नभइ देशलाई राम्रो बनाउने दिशामा अघि बढेको उनको भनाइ छ।
चार महिनाभित्र चितवनलाई अर्कै बनाउने उनले बताए।
नेकपा एमाले र केपी ओली गुट झुटो बोलेर भ्रम छर्न र ठग्नमात्र सिपालु भएको भन्दै उनीहरुले केही नगर्ने प्रचण्डको भनाइ थियो।
माओवादी पार्टी असफल भए राष्ट्र असफल हुने भन्दै प्रचण्डले निराश भएर टुटफुट विभाजनमा लागेर उपलब्धि गुम्न दिन नहुने बताए। क्रान्तिको रक्षा र सफलताका निम्ति लडिरहनु पर्ने उनले बताए।