पुजा बेल्बासे, चैत्र ७, काठमाडौँ । कुनै समय सरकारले निःशुल्क वितरण गरेको रासायनिक मल अहिले किसानका लागि आपूर्ति गर्न सरकार आफैलाई घाँडो भएको छ । समयमा किसानलाई रासायनिक मल उपलब्ध गराउन नसक्दा पटक पटक सरकार आलोचना खेप्दै आएको छ ।
गत साउनका किसानलाई रासायनिक मल उपलब्ध गराउन नसकेपछि तत्काकालिन कृषि मन्त्री घनश्याम भुषालले बंगलादेशबाट पैचोमा रासायनिक मल ल्याउने प्रकृया अघि बढाएका थिए । पछि बंगलादेशले पैचोमा मल दिन आनाकानी गरेपछि अहिले सरकारले जीटुजी मार्फत मल ल्याउन थालेको छ ।
मलको समस्या समाधान गर्न सरकारले अहिले चीन, भारत, र अन्य मुलुकहरुबाट ग्लोबल टेन्डरमार्फत सामुद्रिक र सडकमार्ग हुदै ग्लोबल टेन्डर गरी मल आयात गर्न ६ वटा बाटो खुला भएकोे छ ।
यसले वर्षेनी देखिने मलको समस्या समाधान हुने संकेत मिलेको छ । कृषि सामाग्री लिमिटेडका प्रवक्ता विष्णु पोेखेलका अनुसार चीनबाट सडकमार्गा हुदै पहिलो पटक ४ हजार मेट्रिक टन मल मध्ये १३ सय मेट्रिकटन युरिया मल आयात भएको छ ।
साल्ट ट्रेडिङले चीनमा उत्पादन भएको युरिया नेपालको सिल्क मार्केट प्रालि मार्फत सडकमार्गबाट भित्र्याउन सुरु गरेको हो । बंगलादेशबाट पनि पहिलो लटमा २२ हजार ५ सय मेट्रिकटन मल नेपाल भित्रिईसकेको छ । प्रवक्ता पोखेलले नेपालमा वार्षिक करिब १२ लाख टन मलको माग रहेको बताए ।
सरकारले मल खरिद गर्न यो आर्थिक वर्ष ११ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यो रकमबाट ५ लाख टन खरिद गर्ने योजना सरकारको रहेको उनले बताए ।
प्रवक्ता पोखेलका अनुसार बार्षिक १२ लाख टन मलको माग रहे पनि सरकारी निकायबाट औसतमा साढे ३ लाखभन्दा बढी आयात हुन सकेको छैन । तर यो वर्ष किसानलाई मलको समस्या नहुने पोखरेलले नेपाल टाईम्ससँगको कुराकानीमा दावी गरेका छन् ।
कृषि अभियन्ता उद्घव अधिकारीका अनुसार खेतीपातीको सिजनमा हरेक वर्ष किसानले मल अभावको समस्या झेल्दै आईरहेका छन् ।
अघिल्लो आर्थिक वर्षको मल बीच समयमा आएको थियो भने अहिले असार महिनाको लागि मल ल्याएको छ ।
अधिकारीका अनुसार असारको मल धेरै ढिलो आएको हो र यो पहिलाको नै मल हो । उनले नेपालमा मल कारखाना खोल्ने भनेको शिव शर्माको कथा जस्तै भएको बताउदै मल कारखाना खोल्न सम्भव नभएको बताए ।