६ जेष्ठ, काठमाडौं ।
कोरोनाभाइरस (कोभिड–१९)का कारण विदेशमा अलपत्र परेका नेपालीलाई फिर्ता ल्याउन सरकारले गृहकार्य सुरु गरेको छ ।
कोरोनाभाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम समन्वय उच्च स्तरीय समितिले विदेशमा अलपत्र परेका र स्वदेश फर्किन चाहने नेपालीलाई फिर्ता ल्याउने सम्बन्धमा मोडालिटि तयार गर्न छलफल सुरु गरेको हो । विदेशमा अलपत्र परेका नेपालीहरु र क्वारेन्टाइनको मापदण्डका विषयमा छलफल गरी कार्ययोजना तयार गर्न मंगलबार समितिको बैठक सिंहदरबारमा बसेको छ ।
बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै कोरोनाभाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम समन्वय उच्च स्तरीय समितिका सचिव समेत रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले भारत तथा तेस्रो मुलुकमा रहेका नेपालीहरुलाई ल्याउने विषयमा कार्ययोजना तयार गर्ने विषयमा छलफल भएको बताए ।
समितिको बैठकमा सात वटै प्रदेशसँग समन्वयगर्ने संघीय मन्त्रीहरु लगायतको विचार आइसकेकाले व्यवस्थित तरिकाले कसरी ल्याउन सकिन्छ भन्ने विषयमा कार्ययोजना तयार गर्न लागिएको बताए । उनले विदेशबाट विदेशबाट ल्याउने कामलाई व्यवस्थित गर्दै संक्रमण फौलिन नदिने गरी क्रमश ल्याउने ढंगको योजना ल्याउने तयारीको चरणमा रहेको समेत बताए ।
समितिको बैठकमा प्रदेश र स्थानीयतहमा बनेका क्वारेनटाइनहरुलाई तेकिएको मापदण्ड अनुसार व्यवस्थित गर्ने विषयमा समेत छलफल भएको सचिव विडारीले बताए । क्वारोन्टाइनमा रहनेहरुको सुरक्षाको व्यवस्था, तथ्याङ्क राख्ने लगायतका काम नेपाली सेनाको उपस्थितिमा स्वास्थ्यकर्मीहरुको अगुवाईमा हुने गरी कार्ययोजना तयार गर्न लागिएको उनले बताए ।
यस्तै क्वारेन्टाइनमा बस्नेहरुको बन्दोबस्तिको व्यवस्था, खानपिनको व्यवस्थामा संघीय सरकारको आर्थिक सहयोग हुने र सम्बन्धित स्थानीयतहले जिम्मा लिने गरी व्यवस्थापन गर्ने किसिमको कार्ययोजना आउने छ ।