२२ जेठ, काठमाडाैँ ।
शुक्रबारदेखि विदेशमा दुःख पाएका नेपालीको उद्धार सुरु हुने भएको छ । शुक्रबार बर्मामा रहेका २६ जना नेपालीलाई स्वदेश फर्काउने तयारी भएको हो ।
काम नभएर त्यहाँ अलपत्र अवस्थामा रहेका नेपाली श्रमिकलाई नेपाली दूतावासको पहल र बर्माको सरकारको सहयोगमा नेपाल फर्काउन लागिएको हो । यस्तै, यूएईबाट पनि शुक्रबार नै प्राथमिकताको आधारमा केही नेपालीलाई स्वदेश ल्याइने सम्भावना रहेको छ ।
अहिले त्यस विषयमा छलफल भइरहेको र साँझसम्ममा यसबारे टुङ्गो लाग्ने यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जानकारी दिए । नेपाल सरकारले तोकेको प्राथमिकताको आधारमा तयार गरिएको लिस्टको आधारमा उडान भएमा झण्डै १७० जना यहाँबाट फर्कने छन ।
यूएईमा २१ हजार नेपालीले दूतावासमा आफ्नो विवरण टिपाएका छन् । जसमध्ये १८ हजार ७ सय ७२ जनाले स्वदेश फर्कन इच्छा राखेका छन् । सरकारले यसअघि नै विदेशमा अति नै समस्यामा परेका नेपालीलाई पहिलो चरणमा उद्धार गर्ने निर्णय गरिसकेको छ । खाडी, मलेसिया र अरु देशमा रहेका नेपाली दूतावासले फर्कने नेपालीको विवरण संकलन र समन्वयको काम गरिरहेका छन् ।