काठमाडौँ : सरकारले राजस्व नउठेर खर्च धान्न मुस्किल परिरहेको जनाउँदै आए पनि अनावश्यक क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरेको पाइएको छ । त्यसका दुुई उदाहरण हुन्– प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा निर्माणाधीन २५ तले भ्युटावर बनाउने र सेनालाई सवारी साधन किन्ने बजेट । दमकको भ्युटावर निर्माणमा ४० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ भने नेपाली सेनाले १ सय ५० वटा सवारी खरिद गर्ने योजना अघि सारिएको छ ।
राष्ट्रिय योजना आयोगले तयार पारेको ०७७/७८ को वार्षिक विकास कार्यक्रम पुस्तिकामा सहरी विकास मन्त्रालयमार्फत कार्यान्वयन गर्ने गरी झापाको दमक र नुवाकोटको ककनीमा भ्युटावर बनाउने उल्लेख छ । ‘साना आयोजना भएकाले रातो किताबमा बजेट विनियोजनको अंक उल्लेख गरिएको छैन,’ अर्थ स्रोतले भन्यो, ‘झापाको भ्युटावरलाई ४० करोड र नुवाकोट ककनीको भ्युटावरलाई ५० लाख रुपैयाँ बजेट विनियोजन भएको हो ।’ सेनाले खरिद गर्ने भनिएका सवारीसाधनको बजेट अंक भने खुलेको छैन । ‘एकमुुस्ट बजेटबाट पछि सेनाले नै विनियोजन गर्छ,’ अर्थ स्रोतले भन्यो ।
कोभिड–१९ संक्रमणले निम्त्याएको आर्थिक संकट रहेकाले यी दुवै कार्यक्रमलाई सरोकारवाला अधिकारीले आलोचना गरेका छन् ।, याे खबर कान्तिपुर दैनिकमा छ ।