विराटनगर,असार ८
फुटबल हेर्ने क्रममा भनाभन भएपछि उर्लाबारी नगरपालिका –६ का वडा सदस्यले मोरङ–११ मा आवद्ध फुटबलर २७ वर्षीय विशाल तामाङमाथि छुरा प्रहार गरेका छन् ।
तरुण दल मोरङका सचिव समेत रहेका ४० वर्षीय सचिन शाक्यले तामाङमाथि शुक्रबार बिहान छुरा प्रहार गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले बताए ।
उनका अनुसार विश्वकप फुटबल हेर्ने क्रममा सामान्य भनाभनपछि छुरा प्रहारको घटना भएको हो । अर्जेन्टिना र क्रोएसियाबीचको फुटबल हेर्ने क्रममा सामान्य भनाभनपछि घरतर्फ जाने तयारी गर्दै गर्दा दुई जनाबीच विवाद उत्पन्न भएको प्रहरीले जनाइएको छ। त्यही विवाद छुरा प्रहारको घटनामा परिणत भएको प्रहरीले जानाएको छ ।
उक्त विवादलाई लिएर उर्लाबारी ५ स्थित एरोमा होटेलबाट घरतर्फ जानै लागेका तामाङमाथि शाक्यले बिहान ३ बजेतिर छुरा प्रहार गरेको तिमल्सिनाले बताए ।
छुरा प्रहारबाट पेटमा चोट लागि घाइते भएका तामाङलाई उपचारका लागि विर्तामोड स्थित वी एण्ड सी हस्पिटलमा लगिएको छ । उपचारमा संलग्न चिकित्सकले उनको अवस्था खतरामुक्त रहेको जानकारी दिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनामा संलग्न शाक्य फरार रहेकाले खोजी तिव्र पारिएको छ । उनीमाथि कारवाही प्रक्रिया अघि नबढाउन प्रहरीमा विभिन्न राजनैतिक नेत्रृत्वबाट दवाव आइरहेको एक प्रहरीले बताए । प्रहरीले यस घटनालाई राजनैतिक आडमा भएको अपराधका रुपमा लिएको छ । उर्लाबारी जेसिजका अध्यक्ष समेत रहेका शाक्य निर्माण व्यवसायी पनि हुन् ।
पछिल्लो समय मोरङ–११ मा आवद्ध भएर फुटबल खेलिरहेका तामाङ यस अघि ‘ए’ डिभिजन क्लबबाट पनि खेलिसकेका खेलाडी हुन् ।