१९ कात्तिक, बुटवल ।
मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास समाप्त भएको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् ।
बुटवलमा जारी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री थापाले शान्ति सुरक्षा सुदृढ हुँदै गएको दाबी गरे । उनले भने, ‘शान्ति सुरक्षाका जुन समस्याहरु देखा परेका थिए, ती समस्याहरु हल भइसकेका छन्, कहीँकतै मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयासहरु भएका थिए, ती प्रयास समाप्त भइसके ।’
उनले छिटै नै प्रदेश प्रहरी गठनको प्रक्रिया शुरु हुने बताए । ‘कानुन कार्यान्वयनको प्रक्रिया ठोस रुपमा अघि बढेको छ, उनले भने–यसले संघीयतालाई पनि बलियो बनाउँछ ।’
चीनका राष्ट्रपति सी चिनफिङको आगमनले विकासका लागि कोशेढुंगा सावित हुने बताए । ‘आम नेपालीलाई सुखी तुल्याउने लक्ष्य पूरा गर्नका लागि तीब्र गतिमा विकास भइरहेको छ, ३–४ वर्षमा दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने गरी मुलुक अघि बढिरहेको छ,–उनले भने–व्यापार घाटामा पनि सुधार भएको छ, आयात घटेर निर्यात बढ्दो छ ।’
गोष्ठीकै बीचमा पत्रकारहरुका लागि केही कुरा राख्ने भन्दै बोलेका गृहमन्त्रीले सुरक्षाका बारेमा उपनिर्वाचनको सुरक्षा, तराईमा बढ्दो अपराध, विप्लवका गतिविधिलगायतका अरु कुराहरु भने खुलाएनन् ।