२१ असाेज, काठमाडाैँ ।
साउदी अरेबियामा कार्यरत ८२ जना नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। नेपाली दुतावास रियादका अनुसार हालसम्म ६८ जना र वाणिज्य दुतावास जेद्धाका अनुसार १४ जना गरी हालसम्म ८२ जना नेपालीको कोरोना भाइरसबाट मृत्यु भएकाे हाे। साउदीमा हालसम्म ५ हजारभन्दा बढी नेपाली संक्रमित भएका छन्।
साउदीमा कोरोना भाइरसबाट हालसम्म ३ लाख ३७ हजार २ सय ४३ जना संक्रमित, ४ हजार ९ सय २३ जनाको मृत्यु र ३ लाख २२ हजार ६ सय १२ जना निको भएका छन्।
कोरोना भाइरसको महामारीसँगै साउदी अरेबियाबाट हालसम्म चार्टर उडानबाट लगभग ११ हजारभन्दा बढी नेपाली स्वदेश फिर्ता भएका छन्। नेपाली दुतावास रियाद र वाणिज्य दुतावास जेद्धाले स्वदेश फिर्ता हुन चाहने २६ हजार ९ सय ५६ जनाको नामावली सार्वजनिक गरेको छ।
दुतावासले आगामी दिनहरुमा स्वदेश फिर्ता हुन दुतावासले उपलब्ध गराएको अनलाइन फारम भर्नु नपर्ने, स्वदेश फिर्ताको लागी सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गरेर आवश्यक प्रक्रिया पछि सहजै स्वदेश फिर्ता हुन सकिने जानकारी गराएको छ।
अक्टोबर महिनाबाट स्वदेश फिर्ताको लागी साउदी अरेबियाबाट नियमित रूपमा ट्रान्जिट माध्यमद्वारा एयर अरेबिया, फ्लाई दुबई, अल जजीराले आफ्नो उडान सुरु गरेका छन्। नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले आफ्नो चार्टर उडान कायमै राखेको छ।
दुतावास रियादको सहयोगार्थमा साउदी सरकारले हालसम्म कम्पनीमा कार्यरत रहँदा अकामा नविकरण नगरेका १ हजार ५८ जना नेपालीलाई वहिर्गमन भिषासमेत जारि गरेको छ। अलपत्र परेका १० बेखर्ची नेपालीलाई एनआरएन साउदीले स्वदेश फिर्ताको लागी हवाई टिकट उपलब्ध गरेको छ।