२२ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत महिला क्रिकेटमा श्रीलंकालाई हराउँदै बंगलादेशले स्वर्ण जितेको छ ।
आइतबार पोखरा रंगशालामा भएको खेलमा बंगलादेशले श्रीलंकालाई २ रनले पराजित गर्दै स्वर्ण पदक हात पारेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रन जोड्यो । बंगलादेशका लागि विकेट किपर निगर सुल्तनाले २९ रन जोडिन् ।
यस्तै, फहिमा खातुन र सन्जिदा स्लामले समान १५ र १५ रनको योगदान गरे । श्रीलंकाका लागि उमेशा तिम्सिनाले बंगलादेशको ४ विकेट लिइन् ।
सत्या सन्दिपनीले एक र तारिका सेवान्दीले २ विकेट हात पारे । ९२ रनको लक्ष्य पछ्याएको श्रीलंकाका ब्याट्सवुमन बंगलादेशको बलरसामु खुलेर खेल्न सकेनन् ।
क्याप्टेन हर्सिता माधवी र लिहिनी अप्सराले क्रमस ३२ र २५ रन बनाउन बाहेक अन्यले उल्लेख्य रन जोड्न सकेनन् । श्रीलंकाको पक्षमा रहेको खेल बंगलादेशका बलरले उल्टयाए ।
श्रीलंकालाई १२ बलमा ११ रन आवश्यक परेको बेला साथमा ३ विकेट थियो।तर लगातार विकेट गुमाउन पुग्दा ८ रन मात्रै जोड्न सक्यो ।
यससँगै बंगलादेशले २ रनको रोमाञ्चक जित हात पार्यो । श्रीलंकालाई सस्तैमा रोक्न नहिदा अक्तरले २ विकेट लिइन् । उनले ४ ओभर बलिङ गर्दा १ मेडन राख्दै ९ रन मात्रै खर्चिन् ।
त्यस्तै, जहानारा आलम, सल्मा खातुन र खादिजा तुल कुब्राले १र१ विकेट लिए ।