सामाजिक सञ्जालमा भुवन र साम्राज्ञीको दोहोरी, भुवनमाथि गम्भीर आरोप

0SHARES

१७ असार २०७७ नेपाल टाईम्स

१७ असार, काठमाडौँ ।
केही दिनदेखि सामाजिक सञ्जालमा नायक भुवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहबीच दोहोरी नै चलेको छ । उनीहरूले एक अर्कालाई आरोप लगाउँदै चलचित्रको छायाङ्कनका क्रममा भएको एक अर्काको व्यवहारमाथि टिप्पणी गरिरहेका छन् ।

शुक्रवार अभिनेत्री साम्राज्ञीले फिल्मको सुटिङ सेटमा कलाकारमाथि निर्माता र निर्देशकले गर्ने नराम्रा व्यवहारको बारेमा आफ्ना भोगाईहरु सार्वजनिक गरिन् । उनले एक भिडियोमार्फत् आफूले ८ फिल्ममा काम गर्दा धेरै नराम्रा अनुभव भोगेको बताएकी थिइन् । सुटिङमा खाना र पानी माग्दा निर्माता र निर्देशकले अपशब्द बोल्ने गरेको उनको भनाई थियो । उनले आफ्नो भिडियोमा कुनै पनि मेकर वा चलचित्रको नाम लिएकी छैनन् । तर साम्राज्ञीले बारम्बार आफ्नो डेब्यु चलचित्रमा काम गर्दा आफूमाथि राम्रो व्यवहार नभएको बताउँदै आएकी थिइन् । उनको कटाक्ष निर्माता तथा अभिनेता भुवन केसीमाथि पनि केन्द्रित थियो ।

उनले कयैन् पटक विभिन्न अन्तर्वार्तामा फिल्म ‘ड्रिम्स’ को सुटिङ सेटमा आफूमाथि नराम्रो व्यवहार भएको खुलेर बोलेकी छन् । तर, उनका अभिव्यक्तिलाई लिएर भुवन केसीले कहिल्यै मुख खोलेका थिएनन् ।

आइतवार साँझ भने उनले फेसबुकमा आक्रोशपूर्ण स्टाटस लेखे । साम्राज्ञीलाई कटाक्ष गर्दै उनले ‘ड्रिम्स’ को नाम बेचेर अहिलेसम्म खाइरहेको आरोप लगाउँदै ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्दै आक्रोश पोखेका छन् । अभिनेता केसीले सामाजिक सञ्जालमा गर्ने अभिनय फिल्ममा गरेर देखाउन पनि आग्रह गरेका छन् । यसको जवाफ साम्राज्ञीले पनि फर्काएकी छन् ।

भुवन केसीले फेसबुकमा स्टाटस लेखेको एक घण्टापछि इन्स्टाग्राममा एक भिडियो पोस्ट्याउँदै साम्राज्ञीले भनेकी छन्, ‘एक जनाले के भन्नुभएको छ भने जुन थालमा खायो त्यही थालमा दुलो र्पायो । उहाँले मसँग राम्रो व्यवहार गर्नुभएको थियो भने यो अवस्था आउने नै थिएन । आज यो अवस्था आएकै उहाँले गर्दा हो ।’ उनले भिडियोमा भुवन केसीको नाम उच्चारण भने गरेकी छैनन् ।

उनले जापान अवार्डमा भुवन केसीले आफूमाथि नराम्रो व्यवहार गरेको आरोप पनि लगाएकी छन् । अवार्डमा अभिनेता केसीले भनेको कुरा सम्झँदै उनले थपेकी छन्, ‘तँ त मेरो प्रोडक्ट हो । अब पुरानो कुरा कोट्याएर के फाइदा, तँ एउटा ठाउँमा पुगिसकिस् यस्तो कुरा नगर भनेर मलाई सम्झाउनुभयो । त्यतिबेला मलाई भित्रैदेखि घिन लागिरहेको थियो । तै पनि हाँसेर बोलेँ ।’

ती कुराहरु भनिरहँदा भुवन केसीले आफूमाथि ह्यारेस्मेन्ट गरेको आशय व्यक्त गर्दै साम्राज्ञीले थपेकी छन्, ‘ती कुराहरु अलि टाढाबाट पनि भन्न सकिन्छ नी । गाला जोड्याएर, टाँस्सिएरै भन्नु पर्छ र ? छोरी अब यस्तो नगर है भन्दै गालामा मुख जोड्याएरै भनिराख्नुभएको थियो । तै पनि म सुनिरहेँ । उहाँलाई ‘अंकल’ भन्दा मन पर्दैन । त्यसैले मैले उहाँलाई ‘हुन्छ दाई’ भन्दै धकलेँ ।’

आफूमाथि नराम्रो व्यवहार गर्ने भुवन केसी पहिलो व्यक्ति नभएको पनि साम्राज्ञीको भनाई छ । एकाधबाहेक नेपालका ठूला ब्यानर भनिनेहरुले नयाँ कलाकारहरुको फाइदा उठाउने र प्रयोग गर्ने गरेको उनको आरोप छ । आफूमाथि भएको व्यवहार गलत भएको थाहा हुँदाहुँदै पनि फिल्म करिअरलाई असर पर्ने कारणले धेरैले यी कुरा बाहिर नल्याउन सुझाव दिएको उनी सम्झन्छिन् ।

नायक भुवन केसीको निर्देशनमा बनेको चलचित्र ‘ड्रिम्स’ मार्फत नायिका शाहले डेब्यु गरेकी हुन् ।

विज्ञापन बक्स