२३ जेठ, वीरेन्द्रनगर ।
क्वारेन्टाइनबाट घर फर्केपछि मृत्यु भएका पश्चिम सुर्खेतका युवामा कोरोना पुष्टि भएको छ । बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका-१ हाँसेका २० वर्षीय युवकको मृत्युपछि पीसीआर जाँच गर्दा पोजेटिभ आएपछि कोरोनाले मृत्यु भएको पुष्टि भएको हो ।
बिहीबार दिउँसो गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजिटिभ आएको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिए । ती युवकको स्वाबको रिपोर्ट शुक्रबार बिहान २ बजे पोजेटिभ आएको कणर्ाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले पुष्टि गरे । उनले डेथ भएकोले प्राथमिकता दिनु भनिएकोले राति २ बजेसम्म काम गरेर रिपोर्ट निकालेको बताए ।
प्रजिअ खड्काले स्थानीय तहसँग मिलेर स्वास्थ्यकर्मीले मृतक युवाको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन सुरु गरिएको बताए । साथै शव व्यवस्थापनका लागि वीरेन्द्रनगरबाट नेपाली सेनाको टोली हिँडेको जानकारी दिए ।
मृतक युवकसँगै जनता माविको क्वारेन्टाइनमा ५४ जना थिए । उनीहरुको कोरोना परीक्षण गर्दा तीन जनालाई पोजेटिभ देखियो । युवकसँग बसेका पाँच जनाको रिपोर्ट भने नेगेटिभ आएको थियो ।
योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ११ पुगेको छ भने कर्णालीमा मात्रै दुई पुगेको छ । यसअघि दैलेखमा क्वारेन्टाइनमै मृत्यु भएका युवकमा पनि कोरोना पुष्टि भएको थियो ।