२२ असाेज, एजेन्सी ।
यस वर्षको नोबेल साहित्य पुरस्कार अमेरिकी कवि लुइस ग्लुकलाई दिइने भएको छ । बिहीबार स्टकहोममा आयोजित एक कार्यक्रममा स्विडिस एकेडेमीले अमेरिकी कवि ग्लुकलाई नोबेल साहित्य पुरस्कार दिने घोषणा गरेको हो ।
उनलाई सादा सौन्दर्यले व्यक्तिगत अस्तित्वलाई विश्वव्यापी बनाउँछ भन्ने अकाट्य काव्यिक आवाजको लागि यो पुरस्कार प्रदान गरिएको हो । विजेताले स्वर्ण पदक र एक करोड स्विडिस क्रोनर पाउनेछन् ।
सन् १९४३ मा अमेरिकाको न्युयोर्कमा जन्मिएकी ग्लुक यल विश्वविद्यालयमा अंग्रेजीकी प्राध्यापकसमेत हुन् । सन् १९९२ मा प्रकाशित कवितासंग्रह ‘द वाइल्ड आइरस’ लाई समीक्षकहरुले पनि प्रशंसा गरेका थिए । जुन कवितासंग्रहमा रहेको ‘स्नोड्रप्स’ कवितामा शिशिर यामपछि कसरी चामत्कारिक ढंगले जीवन फर्किन्छ भन्ने कुरा प्रस्तुत गरेकी छिन् । त्यस्तै उनका ‘भिटा नोभा’, प्रूफ्स एन्ड थिएरिज’, ‘मिडोल्यान्ड्स’, ‘फेथफुल एन्ड भर्चुअस नाइट’ लगायतका कवितासंग्रह प्रकाशित छन् ।
यस वर्षको चिकित्साशास्त्र, भौतिकशास्त्र र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ । यस वर्षको शान्तितर्फको नोबल पुरस्कार अक्टोबर ९ र अर्थशास्त्रतर्फको पुरस्कार अक्टोबर १२ मा घोषणा हुनेछ ।