२३ असोज, काठमाडौँ । सरकारी वार्ता टोलीले समय नदिँदा सत्याग्रही डा. गोविन्द केसी पक्ष र सरकारबीचको वार्तामा ढिलाई भएको छ । शुक्रबार बिहानैबाट वार्ता थाल्ने भने पनि सरकारी वार्ता टोलीले समय नदिएको डा. केसी पक्षको वार्ता टोलीको भनाई छ ।
२६ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य झन् जटिल बन्दै गएको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने भन्दै सरकारी वार्ता टोलीले समय मागेको थियो । पछि आन्तरिक गृहकार्यका लागि भन्दै वार्ता स्थगित गरिएको थियो । बिहीबार दुई पक्षबीच करिब १० घण्टा केसीका मागबारे छलफल भएको थियो ।
दुवै वार्ता टोलीले वार्ता सकारात्मक रहेको र निर्ष्कष उन्मुख रहेको प्रतिक्रिया दिएका थिए । सरकारी पक्षले सयम दिए जुनकुनै वार्तामा बस्न र मागबारे छलफल गर्न तयार रहेको उनले जनाए ।
सरकारी वार्ता टोलीले भने केसीका मागबारे प्रधानमन्त्रीलगायत सम्बन्धित निकायसँग परामर्श भइरहेको जनाएको छ ।
सरकार र डा. गोविन्द केसी पक्षबीचको बिहीबारको वार्ता त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा वरिष्ठता मिचेर नियुक्त डिन डा. दिव्यासिंह शाह र डा. निर्देशक दिनेश काफ्लेको बर्खास्तीमा पुगेर रोकिएको थियो ।
डा. केसीले ६ बुँदे माग राखेर जुम्लाबाट अनशन थालेका थिए । आईओएममा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउँदै वरिष्ठताका आधारमा नियुक्ति गर्नुपर्ने उनको माग छ । विश्वविद्यालय, प्रतिष्ठान र काउन्सिलमा मापदण्ड निर्धारण समितिले दिएको सुझावका अनुरुप निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्थासमेत गरिनुपर्ने उनको प्रमुख माग मध्येको एक हो । अख्तियारको बहालवाला तथा सेवा निवृत्त आयुक्तहरुमाथि छानविन गरी कारबाही गर्नुपर्ने र सम्पत्ति शुद्धिकरणको मुद्दा चलाउनुपर्ने माग पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धी भएकाले टुंगोमा पुग्न नसकिएको वार्ता टोलीका एक सदस्यले बताए ।
शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा, स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा सदस्य रहेको वार्ता टोली र डा. केसीका तर्फबाट ‘सोलिडारिटी फर डा. केसी अलायन्स’ का संयोजक डा. जीवन क्षत्रीको संयोजकत्वमा वार्ता टोली बनेको छ । टोलीमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् । डा. केसीले १९ औं अनशन भदौ २९ गते जुम्लाबाट सुरु गरेका थिए ।