हाँस्यव्यङ्ग्य कवि लावण्य सापकोटाको निधन

२२ असोज ७७, शुक्रबार

२३ असोज, विराटनगर ।
हाँस्यव्यङ्ग्य कवि लावण्य सापकोटाको निधन भएको छ । केही समयदेखि श्वासप्रश्वासबाट थलिएका कवि सापकोटाको बिहीबार राति निधन भएको हो ।

विराटनगर–११ निवासी सापकोटा विगत पाँच दशकभन्दा लामो समयदेखि साहित्य लेखनमा सक्रिय थिए । विशेष गरी हाँस्यव्यङ्ग्य विधामा कलम चलाउने सापकोटाका ‘हाईसञ्चो’ र ‘अलख निरञ्जन’ दुई वटा हाँस्यव्यङ्ग्य कवितासंग्रह प्रकाशित छन् । भाषाशास्त्री महानन्द सापकोटाका सुपुत्रका रुपमा वि.सं. १९९७ वैशाख १ गते धरानमा जन्मिएका सापकोटा २०१९ सालमा निजामती सेवामा प्रवेश गरेका थिए । उनी २०४९ सालमा वरिष्ठ वन अधिकृत पदबाट सेवा निवृत्त भएका थिए ।

समसामयिक विषयमा तीखो प्रवाह गर्न सिपालु सापकोटाले कविहरूलाई समेत व्यङ्ग्य गर्न पछि नपर्ने प्राज्ञ विवश पोखरेल बताउँछन् । “कविहरूका चरित्रका विषयलाई समेत लावण्य दाइले आफ्नो लेखनमा उतार्नुभएको थियो,” पोखरेलले भने, “लावण्य सापकोटा कार्यक्रममा भएपछि अर्कै रौनक देखिन्थ्यो ।”

Advertisement

साहित्यिक गोष्ठी भनेपछि सापकोटा हुरुक्कै हुन्थे । पछिल्लो समय शारीरिक अस्वस्थता हुँदाहुँदै पनि कार्यक्रममा जाने गर्दथे । निरन्तरतको लगावकै कारण सापकोटाले हाँस्यव्यङ्ग्य साहित्यमा छुट्टै छाप छाडेर गएको वरिष्ठ समालोचक दधिराज सुवेदीको ठम्याइ छ ।

पत्रकारसमेत रहेका युवाकवि मीनकुमार नवोदितले सापकोटाको अवसानले विराटनगरको हाँस्यव्यङ्ग्य क्षेत्र खाली भएको प्रतिक्रिया दिए । हाँस्यव्यङ्ग्य साहित्यमा सापकोटालाई चुनौती दिने विराटनगरमा कोही पनि नभएको नवोदितको भनाइ छ । “विराटनगरको हाँस्यव्यङ्ग्य साहित्य टुहुरोजस्तै भएको छ,” उनले भने, “उहाँको अवसानसँगै खाली भएको हाँस्यव्यङ्ग्यको स्थान परिपूर्ति हुन निकै समय लाग्छ ।”

Advertisement

सरल भाषाशैलीमा तीखो व्यङ्ग्य गर्न खप्पीस सापकोटाका श्रीमती, एक छोरा र एक छोरी छन् । उनको शुक्रबार विराटनगर होटखोलास्थित श्मशान घाटमा अन्त्येष्टि गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top