२४ आश्विन, काठमाडौं ।
पूर्व सांसद सरिता गिरीले नेपालले चीनतर्फको आफ्नो भूमिको सुरक्षा गर्न नसकेको भन्दै भारतीय सहयोग लिनुपर्ने बताएकी छिन् ।
गिरीले आज विज्ञप्तिमार्फत चीनतर्फको आफ्नो भूमि सुरक्षा गर्न सरकार असफल भइसकेको अवस्थामा भारतको सहयोग लिनुपर्ने बताएकि हुन् । गिरीले चीन सिमानामा रहेका स्तम्भ अनुगमन गर्न गएको नेपाली टोलीलाई चिनियाँ पक्षले नेपालकै भूमिमा पसेर अश्रु ग्यास प्रहार गरेको र नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा लामा सामान्य घाइते भएको दाबी गरेकी छिन् ।
यस घटनाबारे सरकारले तुरुन्त आधिकारिक जानकारी गराउन गिरीको माग छ । भारतले मिचेको नेपाली भूमिसहित नेपालले नयाँ नक्सा जारी गर्दा गिरीले आपत्ति जनाएकि थिइन् । देशको हितविरुद्ध अभिव्यक्ति र क्रियाकलाप गरेको भन्दै उनलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।
गिरीले भनेकि छिन्, ‘नेपाल सरकारले मुलुकको उत्तरी सिमानाको सुरक्षा गर्न सकी रहेको छैन भन्ने कुरा प्रष्ट हुँदै गइरहेको छ । सगरमाथा माथि पनि चीनले अधिपत्य जमाइसकेको कुरा संचारमाध्याममा आएका छन तर सरकारले यस विषयबारे पनि अहिलेसम्म मौनता धारण गरेको छ ।
हिमाली भेगका ६ जिल्लामा चीनले नेपालको भूभाग कब्जा गरेको विभिन्न सरकारी आँकडाले पनि देखाइ रहेको छ । यस परिस्थितिमा यदि नेपाल सरकार स्वयं नेपाल चीन बीचको उत्तरी सिमानाको सुरक्षा गर्न सकी रहेको छैन भने सरकार ले १९५० को भारतसंँगको मित्रता र शान्ति सहमति अनुसार भारत सरकारको सहयोग लिइ पनि सिमानाको सुरक्षा गर्न माग गर्दछु ।’