आफ्नै कार्यकर्ताको झडपमा मारिएका चौरसियाको अझै भएन पोष्टमार्टम

११ कात्तिक ७७, बुधबार

१२ कार्तिक, पर्सा ।
६ दिनअघि पर्सामा नेकपाका कार्यकर्ताबीच भएको झडपका क्रममा मृत्यु भएका मुकेश चौरसियाको अझै पोष्टमार्टम हुन सकेको छैन ।

गत बिहीबार नेकपाको बिन्दावासिनी गाउँपालिका अध्यक्षको शपथ ग्रहण कार्यक्रममा असन्तुष्ट पक्षले विथोल्न खोज्दा भएको झडपमा परी गम्भीर घाइते भई शुक्रबार उपचारको क्रममा मृत्यु भएका चौरसियाको शव वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।

आक्रमण गर्नेहरुमाथि प्रहरीले किटानी जाहेरी दर्ता नगरेको भन्दै परिवारजन तथा नेकपाका नेता कार्यकर्ताहरुले शव पोष्टमार्टम गर्न दिन मानेका छैनन् ।  मृतक परिवारले आक्रमण गर्ने १२ जनामाथि किटानी जाहेरी दिएका छन् ।

Advertisement

तर प्रहरीले आक्रमणमा संलग्नहरुमाथि जाहेरी दर्ता गर्न इन्कार गरेको पर्साको नेकपाका इन्जार्ज रामचन्द्र साहले बताए । बाह्रै जनाविरुद्ध जाहेरी दर्ता नहुन्जेल शव पोस्टमार्टम हुन नदिने उनको भनाई छ ।

‘प्रहरीले दोषीलाई जोगाउन खोजेको छ । जाहेरी दर्ता नभएसम्म हामी संघर्ष गरिरहनेछौँ । निरन्तर धर्ना दिएर दबाबका कार्यक्रम जारी राखेका छौँ,’ उनले भने । मुद्दा दर्ता गर्न आज जिल्ला प्रशासन कार्यालय पर्सामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउने र धर्ना दिने उनले बताए ।

Advertisement

इन्चार्ज साहका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता पूर्व संविधानसभा सदस्य राजकुमार गुप्ता, स्थानीय चुनावमा बिन्दावासिनी गाउँपालिकाका राजपाका गाउँपालिका अध्यक्ष उम्मेदवार रहेका लक्ष्मण चौरसिया, अनिष अन्सारीलगायत १२ जनामाथि किटानी जाहेरी परेको छ ।

तर प्रहरीले भने घटनामा संलग्नै नरहेका व्यक्तिको समेत नाम किटान गरी जाहेरी दिएकाले दर्ता हुन नसकेको पर्साका एसपी गंगा पन्तले बताइन् ।

‘हामीसँग भएको भिडियो फुटेज, अनुसन्धानमा कहिँकतै संलग्नता नदेखिएका मान्छेहरुको पनि नाम किटानी जाहेरीमा नाम दिइएको छ । त्यसैले जाहेरी दर्ता गर्न सकेका छैनौं । संलग्नहरुको किटानी जाहेरी दिन हामीले भनेकै छौँ ।

उनीहरुविरुद्ध हामी मुद्दा दर्ता गर्न तयार छौँ,’ उनले भनिन् । घटनामा संलग्नहरुमाथि मुद्दा दर्ता गरेर कारबाही गर्न नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) र वरिष्ट नेता माधवकुमार नेपालले छुट्टा छुट्टै विज्ञप्ति निकालेर माग गरिसकेका छन् ।

तर प्रधानमन्त्री केपी ओली पक्षका नेता घटनामा संलग्न रहेको भन्दै प्रहरीले किटानी जाहेरी दर्ता नगरेको बुझिएको छ । घटनापछि नेकपाका स्थायी कमिटी सदस्य मातृका प्रसाद यादव, सुरेन्द्र पाण्डे लगायतका नेताहरु समेत प्रहरीविरुद्ध दबाबका कार्यक्रममा सहभागी हुँदै आएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top