३ मंसिर , काठमाण्डौ। चिनियाँ राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शेन्जनमा ऐतिहासिक त्रिपक्षीय बैठक सम्पन्न भएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमहरुका अनुसार बैठक झन्डै डेढ घण्टासम्म चलेको थियो । एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा गुआङदोङ प्रान्तको शेन्जनमा भएको उक्त बैठकमा विश्व शान्ति, परमाणु हतियार र युक्रेन सङ्कट लगायतका विषयमा छलफल भएको छ । बैठकको सुरुवातमा चिनियाँ राष्ट्रपति सी चिनफिङले ठूला राष्ट्रहरूबीच आपसी सम्बन्ध सुधार गर्ने र विश्व शान्तिलाई टेवा पु¥याउने विषयमा चार बुँदे धारणा राखेको चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । उनले ठूला देशहरूले आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व, विन–विन सहकार्य तथा संवाद– परामर्शलाई आत्मसात् गर्नुपर्ने बताए । सीले एक–अर्काको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्नुपर्ने, आ–आफ्नो छनोटको सामाजिक व्यवस्था तथा विकास मार्गलाई स्वीकार गर्नुपर्ने र मुख्य चासो तथा संवेदनशीलताको कदर गर्नुपर्ने धारणा व्यक्त गरे ।
त्यस्तै, उनले कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुनेमा जोड दिए । प्रारम्भिक मन्तव्य दिँदै सीले विश्वव्यापी चुनौतीको सामना गर्न चीन, रुस र अमेरिका मिलेर काम गर्नुपर्ने बताए । आणविक हतियारको विषयमा बोल्दै सीले यसलाई पूर्ण रूपमा निषेध र नष्ट गरिनुपर्ने बताए । ’आणविक हतियारलाई पूर्ण रूपमा निषेध र उन्मूलन गरी यस्तो हतियारमुक्त विश्व निर्माण गरिनुपर्छ,’ उनले भने । आणविक युद्ध जित्न नसकिने र लड्नै नहुने भन्दै उनले यसलाई रोक्न हरसम्भव प्रयास गरिनुपर्ने बताए । ‘ऐतिहासिक’ मानिएको त्रिपक्षीय शिखर सम्मेलनमा एक महत्त्वपूर्ण वक्तव्य दिँदै सीले उक्त धारणा राखेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । ’आणविक हतियारलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइनुपर्छ र पूर्णतः नष्ट गरिनुपर्छ, जसबाट आणविक–मुक्त विश्वको निर्माण हुन सकोस्,’ सीको भनाइ उद्धृत गर्दै अलजजीरा समाचार एजेन्सीले लेखेको छ । उनले आणविक युद्ध कसैले पनि जित्न नसक्ने र यो लड्नै नहुने विषय भएको बताएका हुन् । ’आणविक युद्ध जित्न सकिँदैन र यो लडिनु पनि हुँदैन । यसलाई रोक्न हरसम्भव प्रयास गरिनुपर्छ,’ उनले थपे ।अमेरिकी राष्ट्रपति ट्रम्पले भने बैठकको सुरुमा आफूहरूले ’साँच्चै इतिहास रचिरहेको’ र छलफल गर्नुपर्ने धेरै विषय रहेको बताएका थिए । उनले विश्वमा चर्चा भइरहेका सबै समस्यामाथि छलफल हुने बताए । विगतका नेताहरूले असहमति भएका नेताहरूसँग कुरा गर्न हच्किने गरेको टिप्पणी पनि उनले गरे । ’संवादको अवसर अस्वीकार गरेर कहिल्यै शान्ति कायम हुँदैन,’ ट्रम्पले भने । उनले विश्व राजनीतिमा अमेरिका, चीन र रुसको विशिष्ट स्थान रहेको बताए ।उता रुसी राष्ट्रपति पुटिनले रुस, चीन र अमेरिकाले मिलेर विश्व स्थायित्वलाई अझ बलियो बनाउन सक्ने बताए । ’युक्रेनको द्वन्द्वलगायत क्षेत्रीय द्वन्द्वको समाधानका सन्दर्भमा हाम्रा थुप्रै साझा चासो छन्,’ पुटिनले भने, ’हामीले रचनात्मक साझेदारीमा अघि बढेर यसमा अर्थपूर्ण योगदान दिन सक्छौ ।’ यो छलफलमा रुस–युक्रेन युद्धलगायतका महत्त्वपूर्ण विषयहरूमा पनि कुराकानी भएको छ ।
वार्ता सुरु हुनुअघि तीनै नेताहरूले प्रारम्भिक मन्तव्य राख्दै विश्वका प्रमुख तीन आणविक शक्ति सम्पन्न राष्ट्रहरूबिच संवाद र सहकार्य अपरिहार्य रहेको औंल्याएका थिए । सीले संवादको अभावमा आशंका बढ्ने र सानातिना खटपट पनि ठुला द्वन्द्वमा परिणत हुन सक्ने भन्दै उनले चेतावनी दिए । ताइवानको विषयलाई चीनले द्विपक्षीय सम्बन्धको ‘रातो रेखा’ भन्दै अमेरिकालाई सचेत गराउँदै आएको पृष्ठभूमिमा, सीले चीन, रुस र अमेरिकाबिच नियमित उच्चस्तरीय भेटघाट, हरेक तहमा खुला संवाद संयन्त्र र संकटकालीन सञ्चार प्रणाली स्थापना गर्नुपर्ने प्रस्ताव राखे ।यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी र चिनियाँ समकक्षीहरूसँग पहिलोपटक संयुक्त बैठक गर्दै आफूले विदेश नीतिमा ‘फरक बाटो’ रोजेको बताए। पुटिन र सीप्रति आत्मीय भाव प्रकट गर्दै उनले विरोधी मानिएका शक्तिहरूसँगको प्रत्यक्ष संलग्नताले सकारात्मक परिणाम दिन सक्ने विश्वास व्यक्त गरेका हुन् ।

विश्वका तीन ठुला मुलुकका राष्ट्रपतिका हैसियतले आफ्ना नागरिकका साथै पूरै विश्वलाई असर गर्ने विषयहरूमा खुला, सम्मानजनक र फलदायी संवाद कायम राख्नु आफूहरूको विशेष जिम्मेवारी भएको ट्रम्पले उल्लेख गरे। प्रारम्भिक मन्तव्यमै ट्रम्पले स्वेच्छाचारी विश्वव्यापी संस्थाहरूबाट राष्ट्रिय सार्वभौमसत्ता जोगाउनुपर्ने धारणा पनि अघि सारे । विशेषगरी अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) नियन्त्रणबाहिर गएको र क्षेत्राधिकार नाघेको भन्दै उनले आलोचना गरे। ट्रम्प प्रशासनले यसअघि नै आईसीसीविरुद्ध कडा कदम चाल्दै केही अधिकारीमाथि प्रतिबन्ध लगाएको थियो भने सोही अदालतले युद्ध अपराधको आरोपमा रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरेको छ ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्न रुस, चीन र अमेरिकाको संयुक्त जिम्मेवारी रहेको धारणा राख्दै युक्रेन युद्धसहितका क्षेत्रीय द्वन्द्व समाधानमा तीनवटै देशको साझा स्वार्थ रहेको भनाइ राखे ।
पुटिनले यस विषयमा यसअघि चिनियाँ राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति ट्रम्पसँग छुट्टाछुट्टै भेटवार्तासमेत गरेका थिए। पारस्परिक सम्मान, समानता र हितको सन्तुलनका आधारमा रचनात्मक सहकार्य गर्न सके तीन देश र तिनका जनताले विश्वशान्ति र स्थायित्वमा महत्त्वपूर्ण योगदान पु¥याउन सक्ने विश्वास पुटिनले व्यक्त गरे । यसअघि बैठकको सुरुमा ट्रम्पले व्यापार, हर्मुज स्ट्रेट, इरानको आणविक कार्यक्रम र रुस–युक्रेन युद्धलगायत धेरै मुद्दामा चीनसँगको सहकार्यबारे कुरा गरेका थिए ।ट्रम्पले भने, ‘अमेरिका र चीन दुवै हर्मुजबाट निरन्तर ऊर्जा आपूर्ति सुनिश्चित गर्न चाहन्छन् र इरानसँग आणविक हतियार नहोस्।’ रुस–युक्रेन युद्धबारे उनले भने, ‘दुवै देश यो युद्ध अन्त्यका लागि मद्दत गर्न चाहन्छन्, किनभने हरेक महिना झन्डै २५ हजार सैनिक मारिइरहेका छन्।’ ट्रम्पले ‘३० का लागि ३०’ सम्झौताको उल्लेख गरे, जसअन्तर्गत दुवै पक्षले लगभग ३० अर्ब डलर बराबर भन्सार शुल्क घटाउनेछन् । उनले भने, ‘अमेरिकाका किसानले लाभ लिइरहेका छन् र म उनीहरूका लागि थप कदम चाल्न चीनलाई आग्रह गर्छु।’ ट्रम्पले सीसँगको आफ्नो व्यक्तिगत सम्बन्ध ‘उत्कृष्ट’ रहेको दाबी पनि गरे । उनले अगाडि भने, ‘मलाई लाग्छ, जबसम्म तपाईं र म जिम्मेवारी सम्हालिरहनेछौँ, तबसम्म हामीलाई कहिल्यै कुनै समस्या हुनेछैन।’
यसैबिच समाचार एजेन्सी रोयटर्सका अनुसार, सीले ट्रम्पलाई चीन–अमेरिका सम्बन्धलाई ‘सही दिशामा अगाडि बढाउन’ आफू मिलेर काम गर्न तयार रहेको बताएका छन्। सीले दुई देशको सम्बन्ध समग्रमा स्थिर र सुधारोन्मुख रहेको बताए । उनले भने, ‘हामी दुवै नेताले पारस्परिक सम्मान, निष्पक्षता र एकअर्काअनुरूप कदम चाल्ने आधारमा सम्बन्धलाई नयाँ आकार दिएका छौँ।’ यसैबिच, वार्ताका क्रममा एक अमेरिकी सञ्चारकर्मीमाथि चीनले प्रतिबन्ध लगाएको घटना पनि सार्वजनिक भएको छ। सीसँगको भेटका क्रममा ट्रम्पलाई लक्षित गर्दै एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङका विषयमा चर्को स्वरमा प्रश्न सोधेपछि ब्लूमबर्गकी एक पत्रकारलाई त्रिपक्षीय बैठकमा सहभागी हुनबाट रोकिएको थियो।
उनले ‘राष्ट्रपति ट्रम्प, के जेन्सन हुआङ अमेरिकाप्रति निष्ठाहीन बनेका हुन?’ भनी प्रश्न गरेकी थिइन्। ती पत्रकारलाई बैठकमा समावेश गराउन अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले आग्रह गरे पनि चिनियाँ अधिकारीहरू आफ्नो निर्णयबाट पछि हटेनन्। पत्रकारहरूले चिच्याएर प्रश्न सोध्नुलाई अत्यन्तै अशोभनीय व्यवहार मानिने चिनियाँ पक्षको भनाइ थियो ।



